औषधि सुरक्षामा फार्मासिस्टको भूमिको भूमिका बढाउनुपर्नेमा जोड

मेचीकाली संवाददाता

५ आश्विन २०८३, सोमबार
1 shares

बुटवल । विश्व फार्मेसी दिवस २०२६ को अवसरमा नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको आयोजनामा शुभकामना आदान–प्रदान तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार बुटवलमा आयोजित कार्यक्रममा फार्मेसी क्षेत्रको वर्तमान अवस्था, औषधि सुरक्षामा फार्मासिस्टको भूमिका, स्वास्थ्य सेवामा फार्मेसीको योगदान तथा आगामी दिनमा फार्मेसी पेशालाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले फार्मासिस्टहरूको पेशागत विकास र फार्मेसी क्षेत्रको सुदृढीकरणका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । उनले फार्मेसी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्दै स्वच्छ तथा अनुकूल कार्य वातावरण र आवश्यक सेवा–सुविधा उपलब्ध गराउन तथा दरबन्दी खोल्ने विषयमा प्रदेश सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । उनले विश्व फार्मेसी दिवसको अवसरमा सम्पूर्ण फार्मासिस्ट तथा फार्मेसी क्षेत्रमा आबद्ध सरोकारवालालाई शुभकामना समेत व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रीदेवी अर्यालले फार्मेसी संघ तथा फार्मासिस्टहरूको पेशागत सुरक्षा र व्यक्तित्व विकासका लागि स्थानीय तहबाट सहयोग गर्दै आएको बताइन३ । विश्व फार्मेसी दिवसको अवसरमा आयोजित कार्यक्रमले फार्मासिस्टको भूमिका केवल औषधि वितरणमा सीमित नभई औषधिको सुरक्षित प्रयोग, बिरामी परामर्श, औषधि उपचारको प्रभावकारिता तथा समग्र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण रहेको सन्देश दिएको छ ।
नेपाल फार्मेसी संघका केन्द्रीय सचिव धुर्वकुमार शर्मा, नेपाल फार्मेसी संघका केन्द्रीय निवर्तमान अध्यक्ष किरण ढकाल, बुटवल उपमहानगरपालिका स्वास्थ्य विभाग प्रमुख युवराज पाण्डे, देवदह नगरपालिका स्वास्थ्य विभाग प्रमुख काशी बञ्जाडे र तिलोत्तमा नगरपालिका स्वास्थ्य विभाग अधिकृत रामप्रसाद ढकाललगायतको बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका अध्यक्ष खेमराज तिवारी, उपाध्यक्ष सुपेन्द्र यादवले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण तथा सञ्चालन नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश कमिटीका महासचिव उदयबहादुर खत्रीले गरेका थिए ।