बुटवल, असोज १० । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का वडाअध्यक्ष रामचन्द्र खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै वडा अध्यक्ष खनालले सहकारीलाई बलियो बनाउँदै उत्पादन केन्द्रित लगानी गर्न आग्रह रे ।
देशको अर्थतन्त्रलाई गतिशील र समृद्ध बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहने खनालले धारणा राखे । कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज शर्माले छोटो समयमा सम्बन्ध साकोस दरिलो र बलियो संस्थामा रुपमा स्थापित भइसकेको बताए । अध्यक्ष शर्माले सहकारीका शेयर सदस्य वृद्धि गर्ने अभियान जारी रहेको बताउदै अहिलेसम्म ७१९ जना पुगेको साधारणसभामा जानकारी गराए । सहकारीका शेयर सदस्यलाई १ लाख रुपैयाँको दुर्घटना बीमा कार्यक्रम अघि सारिएको उनको भनाइ छ ।
सहकारीलाई थप सुद्धढ र व्यवस्थित बनाउनको लागि सबैको योगदान र सहयोग आवश्यक रहेको अध्यक्ष शर्माको जोड थियो । बुटवल उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा आउने बहुउद्देश्यीय सहकारीमा सम्बन्ध पहिलो हो । सम्बन्ध सहकारी बुटवल वडा नम्बर–११ को पहिलो बुहउद्देश्यीय सहकारी पनि हो । सहकारीको शेयर पूँजी १ करोड १६ लाख ४० हजार, २००, नियमित बचत ४ करोड ८९ लाख ८७ हजार ९००, स्वेच्छिक बचत ३१ लाख ९४ हजार ९२१ र बाल बचत ९ लाख ७३ हजार ९८ रुपैयाँ रहेको सहकारीका व्यवस्थापक विमला अधिकारीले जानकारी दिइन । कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनाल, बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसी, जिल्ला शिक्षा समन्वय इकाई गुल्मीका पूर्व प्रमुख थानेश्वर घिमिरे, दिपावली साकोसका उपाध्यक्ष हिमलाल न्यौपाने, शुभस्वागतम साकोसका उपाध्यक्ष रविन्द्र कार्की, सहकारीका सल्लाहकार राजेन्द्र ढकाल, शेयर सदस्यहरु दुर्गा आचार्य, राजकुमार श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
साधारणसभाको नीति कार्यक्रमसहितको प्रतिवेदन अध्यक्ष लोकराज शर्माले, अनुमानित आय व्यय र वार्षिक लेखा परीक्षणको प्रतिवेदन कोषाध्यक्ष सन्तोष केसी, आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा संयोजक धर्मराज भटटराईले प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, उपाध्यक्ष विष्णु कुमारी घिमिरेको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
