बुटवल । लगातारको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी, डुबान र पहिरोको जोखिम बढाएको छ । असोज ८ गतेदेखि परेको निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र नदी कटान तथा तराईका बस्तीमा डुबानको समस्या देखिएको छ । कतिपय ठाउँमा घर तथा गोठमा क्षति पुगेको छ भने सडक, पुल, विद्युत् र जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार वर्षाजन्य विपद्मा ६ जनाको मृत्यु, २ जना घाइते र ४०७ जनाको उद्धार गरिएको थियो । यो अघिल्लो दिनको विवरण हो । मृत्यु हुनेमा बागमती र लुम्बिनी प्रदेशका दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशका एक–एक जना थिए । तर असोज ११ गते बिहानसम्म आएका थप स्थानीय विवरणमा पाल्पामा एक जनाको मृत्यु र तीन जना बेपत्ता भएको रिपोर्ट आएको छ ।
बुटवलमा तिनाउले बगायो ६ वटा घर टहरा
रुपन्देहीको बुटवलमा तिनाउ नदीमा आएको बाढीले शनिबार राति नदी किनारका ६ वटा घर टहरा बगाएको छ । ती घरटहराहरु नदी किनारमा जोखिमपूर्ण रुपमा रहेका थिए । तिनाउ नदी खतरा तहभन्दा माथि पुगेपछि नदी किनारका बस्तीमा जोखिम बढेको हो । अहिले बाढी कम भएको छ ।
बुटवलका करिब २०० घर जोखिममा परेका छन् भने रातभरमा सुरक्षा निकायले करिब १ हजार जनालाई सुरक्षित स्थानमा सारेको छ । सुरुमा वडा नं. १३ मजुवाका करिब ५०० जनालाई सुरक्षित स्थानमा लगिएको थियो । पछि उनीहरूलाई विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान श्रीवास्तवले जानकारी दिए ।

तिनाउको पानी शनिबार राति करिब ८ बजे खतरा तह पार गरेको थियो। तिनाउको चेतावनी तह ३.४ मिटर र खतरा तह ३.८ मिटर रहेको जनाइएको छ । अहिले पनि बाढी धेरै घटेको छ ।
नवलपरासीमा नारायणीको बाढी, सयौँ घर डुबानमा
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको बाढी बस्तीमा पसेपछि ठूलो समस्या भएको छ । सुस्ता गाउँपालिका–५ मा दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । शनिबारसम्म करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको थियो । पछिल्लो विवरणमा सुस्ता–५ मा मात्रै २७१ घर तथा गोठ डुबानमा परेको उल्लेख छ । कतिपय घरमा तीन फिटसम्म पानी पसेको स्थानीयको भनाइ छ । सुस्तामा करिब ३१० परिवार बसोबास गर्छन् । नारायणी नदी, भारततर्फको सीमा र भौगोलिक अवस्थाका कारण बाढी बढ्दा बस्तीबाट बाहिरिनसमेत कठिन भएको छ । झोलुंगे पुल जाने कच्ची सडकसमेत डुबानमा परेको छ ।
पाल्पामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
पाल्पाको माथागढीमा पहिरो घर पुरिदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर–३ भसक्टटामा तीन जनाको मृत्यु भएको हो । पहिरोमा परेर बेपत्ता उनीहरुको प्रहरीले खोजतलास गर्दा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका डिएसपी भीमलाल भटटराई जानकारी दिए । बिहान ५ बजेतिर पहिरो गएर घर पुरिएका थिए । पहिरोमा परी मृत्यु हुनेमा ७५ वर्षका लिलबहादुर घर्ती, १७ वर्षियाका दिना घर्ती मगर र वर्ष १५ की झरना घर्तीको मृत्यु भएको हो । उनीहरुको शवहरुको उद्दार गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पातर्फ ल्याउन लागिएको छ । यसैबीच माथागढी गाउँपालिका–२ रक्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदीको मृत्यु भएको छ ।

यसअघि कालीगण्डकी नदीमा पानीको बहाव बढ्दा पाल्पाको रानीमहल क्षेत्रसमेत डुबानमा परेको थियो । त्यहाँ आधा दर्जन होटल, रिसोर्ट तथा पसलका संरचना डुबानमा परेका छन् भने रिडीको बगर क्षेत्र पनि डुबानमा परेको छ । असोज ८ गतेदेखि परेको अविरल वर्षाले देशका धेरै भागमा बाढी, डुबान, पहिरो, नदी कटान र सडक अवरोध गराएको छ । यद्यपि ठूलो मानवीय क्षति भने हुन पाएको छैन । पूर्वसूचना र भोटेकोसीको महाविपत्तिले त्रसित भएका कारणले पनि यसपटक पूर्वसावधानी अपनाएको देखिएको छ । जसका कारण भौतिक क्षति भएपनि मानवीय क्षति धेरै हदसम्म रोकिएको छ । अविरल वर्षाले पहाडी भेगमा रुरुक्षेत्रको रिडीको बगर क्षेत्रको बजार, खेलमैदान, केही संरचनाहरु डुबानमा परेका छन् । बगर किनार हुँदै जाने कालीगण्डकी करिडोर पनि त्यो खण्डमा डुबानमा परेको छ ।
गुल्मीमा ११ परिवार विस्थापित
गुल्मीमा बाढी, पहिरो र हावाहुरीका कारण ११ परिवार विस्थापित भएका छन् । तीन पशुचौपायासमेत मरेका छन् । मदाने गाउँपालिका–६ पुर्कोटदहमा हावाहुरीले घरको टिनको छानो उडाएपछि एक परिवार विस्थापित भएको छ । चन्द्रकोट–४ रेमीमा गोठ भत्किँदा पाडापाडी पुरिएर मरेका छन् ।

मुसिकोट–१ पखेरामा गोठ भत्किँदा एउटा माउ बाख्रा मरेको छ ।
कालीगण्डकीमा पानीको सतह बढेपछि रिडी बजारका जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाका कालीगण्डकी करिडोर, मदन भण्डारी सहायक राजमार्ग र रिडी–रुद्रबेणी सडकका विभिन्न खण्ड पहिरोका कारण अवरुद्ध भएको रिडीका अगुवा प्रेम भण्डारीले जानकारी दिए ।
गुल्मी–स्याङ्जा जोड्ने पुल कालीगण्डकीले बगायो
कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने करिब ५० मिटर लामो पक्की पुल बगाएको छ । पुल बगेसँगै गुल्मी–स्याङ्जा आवागमन प्रभावित भएको छ । कालीगण्डकी करिडोरमार्फत बागलुङ, पाल्पा र बुटवलतर्फको यातायातसमेत प्रभावित भएको छ । यही बाढीका कारण १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द गरिएको छ । पावरहाउसको टेलरेस क्षेत्रमा नदीको सतह बढेपछि तीनवटै टर्बाइन बन्द गरिएको आयोजनाले जनाएको छ ।

म्याग्दीमा १९ घरमा क्षति
म्याग्दीमा तीन दिनदेखिको निरन्तर वर्षासँगै आएको बाढीपहिरोले १९ घरमा क्षति पु¥याएको छ । पाँच गोठ भत्किँदा तीन भैँसी मरेका छन् भने २८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–पाखापानी सडक पहिरो, कटान र बाढीका कारण अवरुद्ध भएका छन् । ग्रामीण क्षेत्रको विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ ।
पर्वतमा पाँच घर बगे
कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से र लस्ती बजारका पाँच घर बगाएको छ । नदी किनारका अन्य घरसमेत जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । पर्वत, स्याङ्जाको संगम स्थल सेतीवेनी समेत डुबानमा परेको छ । त्यहाँका कैयन घर पसलहरु डुबानमा परेका छन् । मानिसहरु माथि डाँडामा चढेर ज्यान जोगाएका छन् । त्यहाँको महाशिला समेत डुबेपछि स्थानीयहरु अनिष्ट हुने भन्दै चिन्तित भएको पर्वत विहादीका स्थानीय नवराज पुरीले बताए ।

बागलुङमा पहिरोले एकको मृत्यु
बागलुङको ताराखोला गाउँपालिका–५ धमेरमा पहिरोले घर पुरिँदा ६९ वर्षीय मानबहादुर रोका मगरको मृत्यु भएको थियो । लगातारको वर्षाले जिल्लाका विभिन्न सडकमा पहिरो खसेपछि यातायातसमेत प्रभावित भएको छ । निसीखोला गाउँपालिका–४ कानाबगरमा पहिरो गएपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । जोखिम बढेपछि जिल्लामा लामो दूरीका सवारी सञ्चालनमा समेत रोक लगाइएको थियो ।
बाग्लुङको बडिगाड गाउँपालिकाका नदी किनारका कैयन बस्ती पनि जोेखिममा परेका छन् । दुई दिनदेखि विद्युत आपूर्ती बन्द भएको र मोबाइलको नेटवर्क समेत नरहेको स्थानीय पत्रकार कमल पौडेलले जानकारी दिए । उनले आफु माथि डाँडामा रहेको कतै कतै मात्रै फोनको नेटवर्क टिपेको बताए । बडिगाड र दरम खोला बढेर त्यस आसपासका बस्ती मध्ये कतिपय घर डुबानमा परेका छन् ।
चितवनमा नारायणी खतरा तह पार
चितवनमा नारायणी नदी र रिउ खोलाको बहाव अत्यधिक बढेको छ । देवघाटको मापन केन्द्रमा नारायणीको पानीको सतह ९.२३ मिटर पुगेको थियो, जबकि त्यहाँको खतरा तह ९ मिटर हो । रिउ खोलासमेत खतरा तह पार गरेको छ । वर्षाले नारायणगढ–मुग्लिन सडकमा विभिन्न स्थानमा पहिरो र लेदो खसेर यातायात प्रभावित भएको छ । इच्छाकामना–४ धारापानी, सिमलधारा तथा भरतपुर–२९ सिमलताललगायत स्थानमा सडक अवरुद्ध वा एकतर्फी भएको छ ।
गोरखामा पुल क्षतिग्रस्त
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङलाई वडा नं. २ भार्जाङसँग जोड्ने काठे पुल थेराङ खोलाको बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको छ । यसले मनास्लु पदमार्गको आवागमन प्रभावित गरेको छ ।
पोखरामा सेती नदीमा अस्थायी ताल
पोखराको रामघाट क्षेत्रमा सेती नदीको बहाव बढेपछि पानीको निकास साँघुरिँदा अस्थायी तालजस्तो अवस्था बनेको छ । नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
कर्णालीमा राजमार्ग अवरुद्ध
कर्णाली प्रदेशमा पनि लगातार वर्षाका कारण सडक सञ्जाल प्रभावित भएको छ । कर्णाली करिडोर, कर्णाली राजमार्ग, मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गका विभिन्न खण्ड पहिरोका कारण अवरुद्ध छन् । हुम्लाको सर्केगाड, कालिकोटको शुभकालिकाको गग्ने खोला, सुर्खेतको बराहताल, पश्चिम रुकुमको सानीभेरी, सल्यानको कपुरकोटलगायत क्षेत्रमा पहिरोले सडक अवरुद्ध गरेको छ । जाजरकोट, कालिकोट, जुम्ला र मुगुका विभिन्न सडक खण्डसमेत प्रभावित छन् ।
विद्युत् आपूर्तिमा पनि असर
वर्षा र हावाहुरीका कारण पाल्पामा बुटवल–पाल्पा, गुल्मी–पाल्पा र स्याङ्जा–पाल्पा ३३ केभी प्रसारण लाइन प्रभावित भएको छ । दार्चुला/डडेलधुरा क्षेत्रमा रुख ढलेर विद्युत् लाइनमा क्षति पुगेको तथा सुर्खेतको रामघाट क्षेत्रमा रुख ढलेर ३३ केभी लाइनमा क्षति पुगेको विवरण पनि सार्वजनिक भएको छ । नेपाल विद्युत् प्राधिकरणले वर्षा, बाढी र पहिरोबाट विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको जनाएको छ ।
लुम्बिनी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार प्युठानमा मात्रै स्वर्गद्वारी क्षेत्रमा १९ टिनका पाता उडेका र नौबहिनी–७ मा पाँच घरका छाना उडेका छन् । अर्घाखाँचीको सन्धिखर्क–७ मा करिब ३० घर जोखिममा८८ छन् भने गुल्मीको चन्द्रकोट–भुल्केमा करिब ४० घर पहिरोको जोखिममा रहेको विवरण आएको छ ।
वर्षा अझै जोखिमपूर्ण
जल तथा मौसमसम्बन्धी पूर्वानुमानअनुसार पछिल्लो वर्षा बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीसँग सम्बन्धित छ । पछिल्लो केही दिनमा लुम्बिनी, गण्डकीलगायत क्षेत्रमा भारी वर्षा भएको छ । कास्कीको पञ्चासेमा २४ घण्टामा १८९ मिलिमिटर, पाल्पाको आर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७०.८ मिलिमिटर, म्याग्दीको कुहुँमा १६५.२ मिलिमिटर र दरबाङमा १६१ मिलिमिटर वर्षा मापन भएको थियो ।
