मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आजदेखि बुटवलमा, विजेताले ७ लाख पाउने

मेचीकाली संवाददाता

१२ आश्विन २०८३, सोमबार
1 shares

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ आजदेखि बुटवलमा सुरु हुँदैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले प्रतियोगिताको ट्रफी अनावरण गरेका छन् ।

प्रतियोगिताको उद्घाटन सोमबार दिउँसो ३ बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको एकेडेमीका अध्यक्ष आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मैदानमा हुने प्रतियोगिता असोज १७ गतेसम्म सञ्चालन हुने उनले बताए ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी आठ टोलीको सहभागिता रहनेछ । नेपालबाट नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब (संखुवासभा) र गल्कोट भलिबल क्लब सहभागी हुनेछन् । यस्तै भारतका गुजरात स्टेट भलिबल एसोसिएसन र खैरा क्लब पञ्जाब तथा श्रीलंकन पुलिस टोलीले विदेशी टोलीका रूपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले रनिङ शिल्डसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार तथा सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेता, उपविजेता तथा अन्य विधाका विजेतालाई कप, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष आचार्यले बताए ।

‘जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोट्र्स एकेडेमीले यसअघि पनि खेलकुदका बहुआयामिक गतिविधि गर्दै आएको छ’, अध्यक्ष आचार्यले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले नेपाली भलिबलको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा प्रवद्र्धन गर्ने विश्वास गरेका छौं ।’

यस्तै, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख अर्यालले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको बताउँदै खेलकुद क्षेत्रको विकासमा स्थानीय तहले प्राथमिकता दिएको बताइन् । अन्तर्राष्ट्रियस्तरका खेलाडीको सहभागिताले बुटवललाई थप चलायमान बनाउनुका साथै खेल पर्यटन प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउने महत्वपूर्ण अवसरका रूपमा प्रतियोगितालाई लिनुपर्ने उनले बताइन् ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न एक करोड ५३ लाख ४४ हजार ९ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता अवलोकनका लागि सुरुवाती चरणका खेलमा ४ सय रुपैयाँ, सेमिफाइनलका लागि ६ सय रुपैयाँ र फाइनल खेलका लागि ८ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ २०६६ साल पुस १७ गते स्थापित मदन भण्डारी स्पोट्र्स एकेडेमीले विद्यालयदेखि विश्वविद्यालय, स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म एथलेटिक्स, टेबलटेनिस, भलिबल, कराते, हक्की, रेस्लिङलगायत प्रतियोगिता आयोजना गर्दै आएको छ । एकेडेमीले स्थानीय तह, जिल्ला, प्रदेश, केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म संगठन विस्तार गरेको जनाएको छ ।

आगामी वर्षदेखि रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितालाई अझ फराकिलो बनाउँदै ठूला देशका टोलीलाई समेत सहभागी गराउने एकेडेमीले जनाएको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।