जनउत्थान साकोसको साधारणसभा, उत्कृष्ट पत्रकारिता पुरस्कार गाहालाई

मेचीकाली संवाददाता

१७ आश्विन २०८३, शनिबार
1 shares

बुटवल । तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सेवा केन्द्र स्तरीय एकाइगत साधारणसभा सम्पन्न गरेको साकोसले प्रतिनिधिमूलक निर्णय प्रमाणित साधारण सभा आयोजना गरेको हो । समुदायमा आधारित जनउत्थान साकोसले पुनः एक्सेस ब्राण्ड प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।
सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेलले जनउत्थान सहकारीले तिलोत्तमाको मात्रै नभएर देशकै नाम उचो बनाउन सफल भएको बताइन् । उनले सहकारीको पंक्तिमा एउटा उदाहर दिन सक्ने सहकारी बनाएकोमा यसका सञ्चालक कर्मचारी र सदस्यहरुलाई बधाई तथा धन्यबाद ज्ञापन गर्दै थप प्रगतिको कामना गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरिप्रसाद पुनले सहकारी प्रतिको माया सद्भाव र त्याग अनि समर्पणले जनउत्थानको यो अवस्था आएकोमा सबैलाई धन्यबाद दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव अन्जु जैसी सुवेदीले गरेकी थिइन् ।

साकोसका अध्यक्ष गिरीप्रसाद पुनले सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन र जनताको मन र विश्वास जित्न जनउत्थान साकोसले निरन्तर उत्कृष्ट कार्य गरिरहेको बताए । जनउत्थान साकोसले एशियाली ऋण महासंघको फोरम २०२६ बाट पुनः एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने समाजमा रहेका आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्यअनुरुप कार्यसम्पन्न गरेको साकोसका अध्यक्ष पुनले जानकारी गराए । त्यसैगरी साकोसले आफ्नो योजनाअनुरुप यसबर्ष पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड दिँदै सम्मान तथा अक्षयकोषलाई अगाडी बढाएको छ ।

साकोसकी उपाध्यक्ष सरु रानाले सभामा आएका सबै सदस्यहरुलाई स्वागत गर्दै समाजमा रहेर जनउत्थानले समजपयोगी कार्य गर्दै जनता र यसका सदस्यहरुको मन जितेको बताइन् । संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक वर्षमा पनि धेरै सदस्य लाभान्वित भएको बताइन् । संस्थाको तर्फबाट कोषाध्यक्ष निलप्रसाद पुनले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत गर्दै गत वर्षको मुनाफाबाट सदस्यलाई १० प्रतिशत लाभांश वितरण गरिने जानकारी गराए ।

उत्कृष्ट पत्रकारिता पुरस्कार गाहालाई
सोही अवसरमा संस्थाले प्रदान गर्दै आएको जनउत्थान उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार मिलन गाहालाई प्रदान गरिएको छ । वित्तीय क्षेत्रका विषयमा निरन्तर कलम चलाउँदै पत्रकारितामार्फत महत्वपूर्ण योगदान पु¥याएको भन्दै गाहालाई उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा गाहालाई पुरस्कारसहित सम्मान गरिएको थियो । संस्थाले विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।