समीप सहकारीको अध्यक्षमा गौतम

मेचीकाली संवाददाता

१६ कार्तिक २०८३, आईतवार
21 shares

पश्चिम् अमवा । रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित समीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा ५ औं निर्वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट सर्वसम्मत रुपमा नरेश्वर गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा प्रतिमा नेपाल, सचिवमा संजय कुमार गुप्ता (भुज), कोषाध्यक्षमा बृजेश कुमार बनिया चयन भएको निर्वाचन उपसमिति संयोजक बिष्णु भट्टराईले जानकारी दिए ।

यस्तै, सदस्यहरुमा एकदेव सापकोटा, विमला नेपाल, जीवन शर्मा, टिका कार्की र सविता खड्का चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा थानेश्वर भुर्तेल र सदस्यहरुमा प्रेमनारायण यादव र विष्णुमाया गुरुङ चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थापक अध्यक्ष माधवकुमार नेपालले राज्यले लागू गरेका अप्ठ्यारा नीतिका कारण सहकारी सञ्चालनमा चुनौती थपिएको बताउँदै सहकारीलाई सफल बनाउन नयाँ योजना सहित अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यनारायण यादवले वार्षिक प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भने कोषाध्यक्ष प्रतिमा नेपालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रकाश रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै अवसरमा संस्थाका सल्लाहकार ध्रुव नेपाल र वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अबसरमा अवसरमा उत्कृष्ट बाल बचतकर्ता, ८० वर्ष नाघेका जेष्ठ शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य र कर्मचारीतर्फ विनोद कुमार बनियालाई सम्मान गरिएको थियो । हाल संस्थामा एक हजार ३०९ जना शेयर सदस्य आबद्ध छन् जसमा ७१२ जना महिला र ५९७ जना पुरुष छन् । कार्यक्रममा उपाध्यक्ष कमल प्रसाद थारुको स्वागत तथा सञ्चालक समिति सदस्य सुदर्शन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।