पार्बती आचार्य
कपिलवस्तु । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु र लेप्रोसि मिसन टु नेपालको संयुक्त आयोजनामा कुष्ठरोगका बिरामीहरुका लागि ३ दिने निशुल्क शिविर संचालन हुने भएको छ । यही मंसिर १३ गते देखि मंसिर १५ गते सम्म बाणगंगा नगरपालिका वडा नं. १ स्थित सि एण्ड सि अस्पतालमा निःशुल्क शिविर संचालन गरिने आयोजकले जानकारी दिएको छ ।
कुष्ठरोगका कारण हात खुट्टामा समस्या भएका बिरामीहरुको निःशुल्क अप्रेशन हुने भएको हुँदा कुष्ठरोगीका बिरामीहरुले सेवा लिई रोगबाट सुरक्षित हुन सि एण्ड सि अस्पतालका डाईरेक्टर गोपाल घिमिरेले आग्रह गरेका छन् । उक्त रोगको निःशुल्क जाँच र अप्रेशनका लागि काठमाडौं देखि बिशेषज्ञ डक्टरको टोलिद्घारा उपचार गरिने सि एण्ड सि अस्पतालले जानकारी दिएको छ ।
अप्रेशन पश्चात बिरामीहरुलाई खान बस्नको समेत अस्पतालले निःशुल्क ब्यबस्था गर्ने भएको हुँदा यस कपिलवस्तु जिल्लाका बिरामीहरुले तिन दिन सम्म संचालन हुने शिविरबाट लाभ लिनबाट कोही बञ्चित नहुन अनुरोध गरेका छन् ।
यस सि एण्ड सि अस्पतालले बिगतका लिनहरुमा जिल्लाका बिभिन्न स्थानहरुमा र छिमेकी जिल्लाहरु रुपन्देही र अर्घाखाँची लगाएतका जिल्लाहरुमा बिशेषज्ञ सहितको टोलि पुगेर निशुल्क सेवा संचालन गर्दै आएको छ । साथै साताको प्रत्येक मंगलबार बिहान ८ बजेदेखि दिउँसो ३ बजे सम्म निःशुल्क सुगर जाँच सेवा दिंदै आएको सि एण्ड सि अस्पतालको प्रशासन शाखाका कृष्ण पोखरेलले जानकारी दिए ।