चौराहा–गोलपार्क सडक निमार्णको काम तत्काल सुरु गर्न व्यापार संघको माग

मेचीकाली संवाददाता

१२ श्रावण २०७८, मंगलवार
1116 shares

बुटवल । रुपन्देही व्यापार संघले बुटवल–बेलहिया ६ लेन सडक विस्तारअन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क खण्डमा सडक विस्तार गर्ने भन्दै सो क्षेत्रका घरहरु भत्काएको लामो समय भईसक्दा पनि सडक निमार्णको काम सुरु हुन नसकेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष यमलाल लोहनी र महासचिव दयानिधि भण्डारीले सोमवार संयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै आर्थिक वर्ष २०६८÷०६९ बाट निर्माण थालिएको व्यापारिक सडक अन्तरगतको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३.५ किलोमिटर क्षेत्रमा सडक विभागले निजी घरहरु भत्काएको लामो समय वितिसक्दा पनि सडकको काम नथाल्दा व्यापार व्यवसायमा ठूलो प्रभाव परेको जनाइएको छ ।

बुटवल बजार क्षेत्रको सडकको मुद्दा अदालतमा पुगेकोले समयमा सडक निर्माणको काम अगाडी नबढेको बताउदै आएको सडक कार्यालयले अदालतको फैसलापछि घरहरु भत्काउने काम गरेको बताउदै सडक निमार्णको काम अगाडी नबढाएकोप्रति संघले चिन्ता र चासो व्यक्त गरेको छ । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ–सडक निमार्णका लागि व्यापार व्यवसाय गरिदै आएको सटर तथा भवनहरु भत्काइएको छ । त्यसबाट सैयौं व्यवसायीहरु विस्तापित समेत भएका छन् ।

कुनै बैकल्पीक व्यवस्था नै गर्न नदिएर कोरोना कहरको समयमा पेशा व्यवसायबाट नै विस्तापित हुने गरि घर भत्काउने काम भयो तर सडक निमार्णको काम भने अलपत्र पारिएको छ । संघले सडकको निमार्णको काम सुरु नहुदा बुटवल क्षेत्रको व्यापार व्यवसायलाई निकै ठूलो क्षति भैरहेको तथा सडकमा हिडडुल गर्न तथा यातायात संचालनमा समेत कठिनाई उत्पन्न भएको भन्दै तत्काल सडक निमार्णको काम अगाडी बढाउन आग्रह गरेका छ ।