डेंगु नियन्त्रणको लागि लार्भा नष्ट गर्ने अभियान सुरु

मेचीकाली संवाददाता

३० आश्विन २०७९, आईतवार
359 shares

कपिलवस्तु। कपिलवस्तुको बाणगंगामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । डेंगु रोगविरुद्ध हाम्रो अभियान, सफा राखौँ आफ्नो गाउँ घर आगन भन्ने मूल नारासहित आइतबार बाणगंगाका विभिन्न वडाबाट सुरु भएको यस अभियान पाँचदेखि सात दिनसम्म चल्ने छ । केही समय यता डेंगु रोगका संक्रमितहरु बढ्दै गएसंगै उक्त अभियान सञ्चालन गरिएको बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

यसैबीच बाणगंगाको वडा नम्बर ३ मा पनि अभियान सुरु भएको छ । वडा अध्यक्ष टेकबहादुर झेँणी मगरको अध्यक्षतामा सुरु भएको यस अभियान कार्यक्रम अबको एक हप्तासम्म चल्ने बताइएको छ । वडा नम्बर ३ को स्वास्थ्य चौकीबाट सुरु गरिएको यस अभियानमा वडाका विभिन्न गाउँमा पुगी लामखुट्टेले फुल पार्न सक्ने ठाउँको पहिचान गरी लामखुट्टेको लार्भा नष्ट गरिने आधारभूत स्वास्थ्य सेवा केन्द्र सिउटीका इन्चार्ज जानकी चौधरीले बताइन् ।

बाणगंगा नगरपालिका स्वास्थ्य शाखा कपिलवस्तुको आयोजनामा सुरु भएको यस अभियानले डेंगु नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । अभियानको पहिलो दिन बाणगंगा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख , वडा अध्यक्षाहरु, प्रमुख प्रशासकिय अधिकृतलगायत कर्मचारीहरु, स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्य चौकीका कर्मचारी तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका, वडाका विभिन्न टोलविकास संस्थाका प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, स्थानीय राजनैतिक दलका प्रतिनिधि, पत्रकार स्थानीयलागायतको उपस्थिति रहेको थियो ।

विशेषगरी बाणगंगाको वडा नं. १, २, ४, ७ र ८ मा बढी डेगुंको प्रकोप भेटिएको भए पनि बाणगंगाका सबै वडामा यस अभियान लाई सक्रिय रुपमा सञ्चालन गरिने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । अभियानमा वडा नं ४ मा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल ५ र ६ मा उपप्रमुख रिताकुमारी चौधरी, १० र ११ मा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल र स्वास्थ्य प्रमुख ठगराज पौडेल, ८ मा सूचना अधिकारी केशवराज भट्टराई, वडा नं ७ मा लेखा अधिकृत केशव गैरे, वडा २ मा खिमबहादुर जिसीलगायतको जिम्मेवारी तोकिएको बताइएको छ ।
हालसम्म यस नगरपालिकामा १ सय २३ जना डेंगुबाट सङ्क्रमित भएका छन् जसमा ६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ । उक्त अभियानको शुरुवात वडाका वडा अध्यक्षहरुको अध्यक्षतामा शुरुवात गरिएको हो ।