कपिलवस्तु अदालतमा ३८ प्रतिशत मुद्दा फैसला

मेचीकाली संवाददाता

२१ श्रावण २०७८, बिहीबार
891 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन २१ । कपिलवस्तु जिल्ला अदालतमा आर्थिक वर्ष २०७७÷०७८ मा ३८ दशमलव २२ प्रतिशत मात्र मुद्दा फैसला भएकोे छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको र नयाँ मुद्दा दर्ता गरी कूल ३ हजार ५६ मुद्दा थियो । जसमध्ये १ हजार १ सय ६८ मुद्दा फर्सौट भएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भन्डारीका अनुसार गत आर्थिक वर्षमा १ हजार ६ सय ६० मुद्दा दर्ता भएका थिए । यस्तै अघिल्लो आर्थिक वर्षबाट १ हजार ३ सय ९६ मुद्दा जिम्मेवारी सरेर आएका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा अदालतमा ४४ दशमलव ८ प्रतिशत मात्र मुद्दा फर्सौट भएको थियो । गत वर्ष देबानीतर्फ ८ सय १७ फर्छाैट भएको र १ हजार २ सय ५६ फर्छौट हुन बाँकी थियो ।

यस्तै सरकारवादी तर्फ २ सय १३ मुद्दा फर्छौट भएका थिए भने २ सय ६४ मुद्दा बाँकी छ । दुनियाँवादी फौजदारीमा १ सय १६ फर्छौट भएको र ३ सय ३० फर्छौट हुन बाँकी छ । पुनरावेदन देवानीमा ४ फर्छौट र १४ मुद्दा फर्छौट हुन बाँकी छन् । सरकारवादी फौजदारी पुनरावेदनमा २ वटा मुद्दा फर्छौट हुन बाँकी छन् । बन्दी प्रत्यक्षीकरणमा ५ वटै फर्छौट भएका छन् ।

७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य रहे पनि कोरोना भाइरसका कारण अदालतको कामकाज समेत प्रभावित भएको श्रेस्तेदार भण्डारीले बताए । धेरै मुद्दाहरु एकदेखि ढेड वर्षभन्दा कम अवधिका रहेकोले यस वर्ष प्राथमिकताका साथ अघि बढाइने बताए । मुद्दा र रिट गरी गत वर्षको १ हजार ८ सय ८८ लगत यस आर्थिक वर्ष ०७८÷०७९ का लागि जिम्मेवारी सरेर आएको कपिलवस्तु जिल्ला अदालतले जानकारी दिएको छ ।