सांसद विमला वलीलाई अपहरण गरेको आरोपको प्रदेश सरकारद्धारा खण्डन

मेचीकाली संवाददाता

२२ श्रावण २०७८, शुक्रबार
862 shares

बुटवल । आफूलाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएको भन्ने सांसद विमला वलीको आरोपको लुम्बिनी प्रदेश सरकारले खण्डन गरेको छ ।
वली आफ्नो स्वेच्छाले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको र त्यहाँबाट निस्किएपछि अपहरण गरी बन्दी बनाएको भन्नुले आश्चर्य लागेको प्रदेश सरकारको प्रतिक्रिया छ

वली कसैले करकापमा पारेर नभई स्वेच्छाले नै साउन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री पोखरेलको निवासमा सरकार प्रवक्ता वैजनाथ चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन साउन १५ गते बिहान दाङ तुल्सीपुरस्थित वलीको घरमा लुम्बिनी प्रदेश सभाका (नेकपा एमालेका) प्रमुख सचेतक भूमिश्वर ढकाल पुगेका हुन् । स्पष्टीकरण पत्र माननीय विमला वलीले बुझेपछि उनको परिवारको बीचमा छलफल भयो । पारिवारिक सल्लाहअनुसार वलीले मुख्यमन्त्रीलाई भेटेर कुरा गर्ने इच्छाअनुसार बुटवल आएकी हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ढकालको गाडीमा आफ्नो दिदीलगायत आफन्तसहित उहाँ मुख्यमन्त्री निवास बुटवलमा पुग्नुभएको हो । मुख्यमन्त्रीसँग छलफल भएपछि आफ्नो दिदीसहित मुख्यमन्त्री निवासमा बस्नुभएको हो ।’

चार दिन मुख्यमन्त्री निवासमा बस्दा विभिन्न प्रदेशसभा सदस्यहरू र आफन्तहरूसँग दैनिकजसो भेटघाट र कुराकानी गरेका, साथै फोनमा धेरै जनासँग कुरा भएको स्वयं विमला वलीको भनाइबाट पुष्टि चौधरीले उल्लेख गरेका छन् । नेकपाबाट निर्वाचित सांसद वलीलाई आफूलाई दाङबाट अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा बन्धक बनाएको बताएकी थिइन् ।