बहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्छः विष्णु पौडेल

मेचीकाली संवाददाता

१२ मंसिर २०७९, सोमबार
234 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालै सम्पन्न निर्वाचनबाट कुनैपनि दलको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।

‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण कुरा हो’, पौडेलले भने, ‘कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरतातर्फ जान सक्ने खतरा बढेको छ।’

प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा सोमवार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले बहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने बताए। रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दावी गरे।

‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसावले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,’ उनले भने।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने उल्लेख गर्दै उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि एमालेको भूमिका रहने बताए। यसपटकको निर्वाचनमा एमालेलाई किनारामा पार्ने धेरै कोशिस भएको समेत उनले बताए।

रुपन्देही २ का मतदाताको सल्लाह सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने उनले प्रतिवद्धता जनाए। अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै पौडेलले आफू सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने बताए।