रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्दै

मेचीकाली संवाददाता

२४ श्रावण २०७८, आईतवार
658 shares

रामपुर । स्वास्थ्य क्षेत्रमा पूर्वाधार थपिइरहेको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खुल्ने भएको छ । देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसँगै स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ठूला लगानीमा पूर्वाधार निर्माणका काम भइरहेकामा यहाँ पनि आयुर्वेद अस्पताल बनाउन लागिएको हो ।

आयुर्वेद पद्धतिको स्वास्थ्योपचार सेवालाई विस्तार गर्ने उद्देश्यले यहाँ १५ शैयाको आयुर्वेद अस्पताल भवन निर्माण भइरहेको छ । हालको रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी सोही ठाउँमा १५ शैयाको अस्पताल भवन निर्माण कार्य भइरहँदा स्थानीयमा खुशियाली छाएको छ ।

संघीय सरकारको भवन निर्माण आयोजनाअन्तर्गत भ्याटबाहेक रु.नौ करोड ५४ लाख ८७ हजार ४८ मा ठेक्का सम्झौता भई भवन निर्माणको काम जारी छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनबाट शिवशक्ति कन्स्ट्रक्सन प्रालीले निर्माण कार्य थालनी गरेको हो ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अघिल्लो वर्ष ११ चैत गतेदेखि नेपाल सरकारले बन्दाबन्दी जारी गरेपछि निर्माण कार्य प्रभावित हुन पुग्यो ।

बन्दाबन्दी खुकुलो भएपछि विसं २०७७ को मङ्सिरदेखि पुनःभवन निर्माणको काम थालियो । अहिले भवन निर्माणको काम धमाधम चलिरहेको छ । सो भवन २०७८ भदौ २४ गतेसम्ममा सम्पन्न हुने सम्झौता भए पनि कोरोनाको कहरले भने काम प्रभावित बन्न पुग्यो । संघीय आयोजना कार्यालय इकाइ भैरहवाका अनुसार हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । पहिलो चरणको कोरोनाको कहरले काम प्रभावित बने पनि दोस्रो चरणको बन्दाबन्दीमा स्वास्थ्य सुरक्षा अपनाएर निर्माणको कामलाई निरन्तरता दिइएको छ । दैनिक बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मजदुर काममा खटिएका छन् ।

यहाँ भवन निर्माण कार्यले दोस्रो चरणको बन्दाबन्दीका समयमा पनि खाली बस्नु नपरेको कामदार नवीन कार्की बताउँछन् । उदयपुरका कार्कीले यहाँ काम गर्न थालेको १० महिना भयो । उनी गारो लगाउने, सिमेन्ट घोल्नेलगायतका विभिन्न काम गरेर दैनिक रु.एक हजार ज्याला बुझ्छन् । यही कमाइबाट उनले पाँच जनाको परिवार पालेका छन् ।

‘अहिले त कोरोनाको कहरमा पनि काम नपाएर बस्नु परेको छैन, दैनिक काम पाइएको छ, यहाँ कमाइ गरेको ज्याला घरमा पठाउने गरेको छु, हामी मजदूरीलाई काम पाए त्यही नै ठूलो छ,’उनी भन्छन् । यहाँ यतिखेर २५ जनाभन्दा बढी मजदुर काममा खटिएका छन् । सरकारी अस्पतालको पहुँच नपुगेको पाल्पाको रामपुरमा विसं २०१७ मा रामपुर आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवाको अनुभूति लिएका थिए ।

विसं २०२९ मा भने अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालियो । अञ्चल कार्यालय सदरमुकाम बुटवलमा मात्रै राख्ने तत्कालीन सरकारको निर्णय रहेकाले विसं २०४३ माघ ६ गते अञ्चल कार्यालय बुटवलमा स्थानान्तरण भएपश्चात् पुनःआयुर्वेद औषधालयकैरुपमा सेवा दिन थालियो ।

रामपुर आयुर्वेद औषधालयको स्वामित्वमा १२ रोपनी आठ आना जग्गा छ । सोही जग्गामा नै तीनतले सुबिधा सम्पन्न नयाँ भवन निर्माण भइरहेको छ । सरकारी तवरबाट सबैभन्दा पहिला स्थापना भई नागरिकलाई स्वास्थ्य सेवा दिएको यस आयुर्वेद औषधालयलाई स्तरोन्नति गरी स्वास्थ्य क्षेत्रको सेवालाई फराकिलो बनाउन १५ शैयाको अस्पताल बनेपछि नागरिकले स्वास्थ्योपचारमा ठूलो राहत लिन पाउने रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख तथा आयुर्वेद औषधालयका कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए ।

उनी भन्छन्,‘अहिलेको अवस्थामा आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढ्दो छ, रामपुरमा बढ्दै गएको जनघनत्वलाई हेर्दा आयुर्वेद अस्पताल अति आवश्यक हो र यसबाट पूर्वी पाल्पाका नागरिकले स्वास्थ्योपचारमा ठूलो लाभ मिल्नेछ ।’ आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका डाक्टरको दरबन्दी रहनेछ । जसमा डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीलगायतले सेवा दिनेछन् । आयुर्वेदक तथा प्राकृतिक अस्पतालबाट इमर्जेन्सी, एक्स–रे, ल्याबलगायतका सेवा सञ्चालन गरिनेछ ।

सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुई वटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक वटा आयुर्वेद औषधालय रहेका छन् ।

यस्तै गत आर्थिक वर्षमा रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधव बस्यालले जानकारी दिए । औषधालयमा कविराज र वैध एक÷एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । औषधालयमा ओपिडी, जनरल, आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायतका सेवा प्रवाह भइरहेको छ । रासस