स्वास्थ्य बिमाः सहज छैन सेवा लिन

मेचीकाली संवाददाता

२२ मंसिर २०७९, बिहीबार
300 shares

गुल्मी । स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ । अनि बल्ल पालो आउँछ, एउटा बिरामीको स्वास्थ्य जाँच गर्न ।

अस्पतालमा हुने यस्तै झन्झटिलो प्रक्रिया झेल्न बाध्य भइन्, गुल्मीको रेसुङ्गा नगरपालिका–७ की सुलोचन थापा । ‘स्वास्थ्य बिमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ,’उनी भन्छिन्,‘बिरामी भएर अस्पताल आउने हो, छिटो र सहज हुनुप¥यो ।’ बिमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाई हुने थापाले बताइन् ।
स्वास्थ्य बिमा गरेर पनि औषधी बाहिर किन्ने बाध्यतामा छन्, रेसुङ्गा नगरपालिका–७ का ७३ वर्षीय चुरामणि आचार्य । उनले सुरुआती चरणमा नै स्वास्थ्य बिमा गरेका थिए । बिमाका कारण उनी सधैँ उपचारका लागि गुल्मी अस्पतालमै धाउँछन् । ‘आउँछु बिमाको कार्ड देखाउँछु ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन् समयमै उपचार पाउँछु,’ उनी भन्छन्,‘आधाभन्दा बढी औषधि बाहिर किन्न भन्छन्, यसरी त स्वास्थ्य बिमाको के अर्थ भयो र ?’ र स्वास्थ्य बिमा गरेपछि सबै रोगको उपचार र सबै औषधी निःशुल्क पाउनुपर्ने आचार्यको भनाइ छ ।

मुसिकोट नगरपालिका–२ देउरालीका इन्द्रबहादुर रायमाझी पनि स्वास्थ्य बिमा गरे पनि सबै औषधी निःशुल्क नपाएकामा चिन्तित छन् । स्वास्थ्योपचार निःशुल्क हुने आशामा बिमा गरेको भन्दै रायमाझीले बिमा गर्नेहरूको उपचार निःशुल्क भएमा स्वास्थ्य बिमा अझै बढी प्रभावकारी हुने बताए ।
रेसुङ्गा–१४ की एलिसा पाण्डे भने उपचारमा आफू सन्तुष्ट रहेको बताउँछिन् । उपचारमा केही ढिलाई भएपनि स्वास्थ्य बिमाका कारण आर्थिक हिसाबले कमजोर भएकाहरू पनि उपचारको पहुँचमा पुगेको उनको भनाइ छ । ‘केही कमी–कमजोरी रहे पनि स्वास्थ्य बिमामार्फत हुने उपचारको सेवा राम्रो छ,’उनी भन्छिन्,‘सबैले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्छ ।’ नियमित औषधी प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामी हुनेहरूलाई पनि स्वास्थ्य बिमाले धेरै राहत दिने भएकाले स्वास्थ्य बीमाबाट छुट्न नहुने उनको भनाइ छ ।

अस्पतालमा आकस्मिकबाहेक अन्य बिरामीका लागि भने स्वास्थ्य बिमा भए पनि वा नभए पनि उपचारको प्रक्रिया एकनासको रहेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार गुल्मीमा बिमा गर्नेहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सात हजार आठ सय १७, २०७७÷७८ मा ५८ हजार तीन सय ९२ र २०७८÷७९ मा ९७ हजार दुई सय ४३ जनाले स्वास्थ्य बिमा गराएको बिमा बोर्डका दर्ता अधिकारी धुव्रराज बोगटीले जानकारी दिए ।

‘तोकिएका रोगको मात्र उपचार हुने र तोकिएका औषधी मात्र निःशुल्क पाउने हो,’ उनी भन्छन्,‘पोलियोबाट हुने अपाङ्गता, दाँतसम्बन्धीको रोग, सेतो छडी र वैशाखीलगायत केहीको शुल्क तिर्नुपर्छ ।’ स्वास्थ्य बिमा गरेपछि सबै रोगको उपचार र सबै औषधी निःशुल्क पाउनका लागि नीति नै परिवर्तन गर्नुपर्ने दर्ता अधिकारी बोगटीले बताए । स्वास्थ्य बिमा गर्नका लागि प्रत्येक वडामा रहेका दर्ता अधिकारीसँग सम्पर्क गर्न सकिन्छ । जिल्लाका ९३ वडामा एक–एक जनाका दरले दर्ता अधिकारी छन् ।