सर्पदंश उपचार केन्द्र सञ्चालन भएपछि बिरामीलाई सहज

मेचीकाली संवाददाता

२४ श्रावण २०७८, आईतवार
744 shares

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जर्गाहमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामीले सहज रुपमा उपचार पाउन थालेका छन् । नजिकै उपचार केन्द्र सञ्चालन भएर सहज रुपमा उपचार पाउन थालेपछि स्थानीयवासीलाई सुविधा भएको छ ।

प्रहरीयुक्ति तालीम महाविद्यालय सुनवल नगरपालिका—११ जर्गाहले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेपछि उपचारका लागि टाढा जानुपर्ने तथा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको हो । यसअघि यहाँका बिरामी उपचारका लागि बुटवल र भरतपुरसम्म जानुपर्ने बाध्यता थियो ।

दुई दिनअघि सर्पले डसेपछि उपचारका लागि आउनुभएकी स्थानीयवासी गोमादेवी ढकालले यस केन्द्रबाट आफूले सहज रुपमा सेवा पाएको बताइन् । “हामी पहिला सर्पले टोक्दा टाढा र धेरै खर्च लगाएर उपचारका लागि जानुपर्ने बाध्यता थियो, अहिले जर्गाहमै प्रहरीले उपचार केन्द्र सञ्चालन गरेपछि धेरै सजिलो भएको छ, हामी एकदम खुशी छौँ”, उनले भनिन् ।

सुनवल—१० का लक्ष्मण कार्कीले यस केन्द्रबाट आफूले राम्रो उपचार पाएको बताए । उपचार सेवा प्रभावकारी रहेकाले बुटवल र भरतपुर पुग्नुपर्ने अवस्था अब नभएको उनको भनाइ छ ।

रुपन्देहीको देवदह—४ बाट आएकी दुर्गा बस्यालले राम्रो उपचार हुन्छ भन्ने सुनेकाले बुटवल नगइ यहाँ आएको र उपचार पनि राम्रो भएकाले आफू निको भएर फर्कन लागेको बताइन् । यस उपचार केन्द्रमा हाल दैनिक सरदर तीन जनाका दरले सर्पले डसेका बिरामी आउने गरेका उपचार केन्द्रका चिकित्सक डा शिक्षित शेर्पाले बताए ।

वर्षायामसँगै सर्प बाहिर निस्कने र डस्ने भएकाले यो समयमा धेरै बिरामी आउने गरेको उनि बताउछन्। गत आवमा ५७ पुरुष र ५३ महिला गरी ११० सर्पदंशका र अन्य ३०० बिरामीले सामान्य उपचार सेवा लिएको उनले बताए ।

यहाँ पानी सर्प, गोमन, करेत, कोब्रा सर्पले डसेका बिरामी धेरै आउने गरेका छन् । उपचार सेवा सहज र प्रभावकारी हुँदै आएकाले नवलपरासीसहित चितवन, रुपन्देहीबाट पनि बिरामी उपचारका लागि मान्छे आउने गरेको केन्द्रले जनाएको छ । रासस