हामी प्रतिबद्ध छौँ

मेचीकाली संवाददाता

२९ मंसिर २०७९, बिहीबार
703 shares

मेचीकाली सन्देश राष्ट्रिय दैनिक २३ वर्षअघि आजकै दिनदेखि प्रकाशन सुरू भएको थियो । मेचीकाली सन्देशको गौरवपूर्ण वर्षगाँठका अवसरमा मेचीकालीलाई माया गर्ने सम्पूर्णप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छौं । समुदायको आवाजका रूपमा, राष्ट्रियता र सामाजिक एकताका पक्षमा, जनजीविकामा आइपर्ने अनेकौं कठिनाइको समाधानको शुत्र पत्ता लगाउने एउटा माध्यमका रुपमा पत्रिकालाई अझै पठनीय र स्तरीय बनाउने प्रतिबद्धता पनि यहीँ अवसरमा व्यक्त गर्दछौँ ।

मेचीकाली सन्देश निरन्तर नेपाल सरकारबाट राष्ट्रियस्तरको ‘क’ वर्गमा सूचीकृत भएको छ र अझ स्तरीय हुने हौसला बढाएको छ । प्रारम्भताका विभिन्न आरोहअवरोह पार गर्दै श्यामश्वेत प्रकाशन हुँदै अहिले यस क्षेत्रमै ब्रोडसिट आफ्नै स्तरीय छपाइ मेसिनबाट रंगीन कलेवरमा दैनिक पत्रिका प्रकाशित गरिरहेका छौं ।
देशमा देखिएको अदृश्य आर्थिक शिथिलताका कारण उद्योग, व्यापार, व्यवसाय तथा सम्पूर्ण आर्थिक कारोबारमा आएको मन्दीलाई उचित समयमा सम्बन्धित पक्षले समाधान गर्नुपर्ने विषयमा निरन्तर मिडियाको तर्फबाट पहरेदारी गरेका छौँ । बैंकले बढाएको ब्याजका कारण उत्पादन लागतमा आएको वृद्धिले मिडिया पनि अछुतो रहन सकेन । छापामिडिया सञ्चालनार्थ उपयोग हुने कागज, मसी, केमिकलको अस्वभाविक मूल्य वृद्धि तथा नेपालमा उत्पादन नहुनु र नपाइनु राष्ट्रको गैर जिम्मेवारीको रुपमा लिएका छौं तथा सरोकारवाला सम्बन्धित पक्षले यस विषयमा सोच्नुपर्ने ठानेका छौँ ।

संघ तथा प्रदेशको चुनाव भर्खरै सकिएको छ । कुनै एक दलको सरकार बन्ने जनमत कसैसँग नभएकाले अब बन्ने संयुक्त सरकारबाट सम्पूर्ण नेपालीले राहत तथा सुशासनको प्रत्याभूत गर्ने वातावरण तयार गर्न सरकार लाग्नुपर्ने ठानेका छौँ । संघ र प्रदेश सरकार चुनावमा नयाँ पार्टी र सक्षम उम्मेदवारको आगमन पनि नेपालको लागि राम्रो रहेको छ । मिडियामार्फत सुशासन, आम जनमानसको दैनिक जीविका, आर्थिक सुविधाको लागि जनताको तर्पmबाट निरन्तर पहरेदारी गरिरहने छौँ ।
हामी निरन्तर पत्रिकालाई सबैको चासो, खोजी र भरपर्दो सञ्चार माध्यमका रूपमा विकास गर्नका लागि प्रकाशन सामग्रीमा विविधता ल्याउने हाम्रो प्रयास जारी छ । हामीले पनि डिजिटल प्रविधिलाई पछ्याउँदै अनलाइन न्यूज पोर्टल मेचीकालीन्यूज डटकम https://mechikalinews.com सञ्चालनमा ल्याएका छौँ ।

लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र बुटवलबाट हामीले पत्रिका निरन्तर प्रकाशन गर्दै आएका छौँ । स्थानीय पालिका, जिल्ला र समृद्ध प्रदेश हुँदै ‘समृद्ध मुलुक: सुखी जनता’को संकल्प साकार हुने कुरामा पनि हामी ढुक्क छौं । समृद्धि र जनतामा खुशीयाली ल्याउने काममा समग्र सञ्चार जगत्ले एउटा प्रभावकारी माध्यमको रूपमा काम गर्नुपर्ने दायित्वलाई हामीले भुलेका छैनौं । राजनीतिक स्थायित्व र संविधानको कार्यान्वयनमा फेरि आशंका उत्पन्न हुनेगरी कोही पनि प्रस्तुत हुनु राम्रो कुरा होइन । राजनीतिका यावत् समस्याहरु समाधान गरी सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नुपर्ने दायित्व राज्यका सबै तहमा छ, जुन अब व्यवहारमै उतार्नुपर्ने छ ।

नेपाली जनताले तीव्रतर विकास र परिवर्तन चाहेका बेलामा अन्यत्र बरालिने छुट कसैलाई पनि छैन । मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको अभियानमा पत्रकारिताको माध्यमबाट दृढताका साथ लाग्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौँ । मेचीकालीको अनवरत यात्रामा आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने यसका संस्थापक, लगानीकर्ता, कर्मचारी, समस्त पाठकवर्ग, विज्ञापनदाता र शुभेच्छुक सम्पूर्णप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौँ ।
होमराज बश्याल
अध्यक्ष
मेचीकाली सन्देश प्रकाशन प्रा.लि.