‘अस्पतालमा सेवा सुविधा थप्न रातदिन खटिएका छौं’

मेचीकाली संवाददाता

१ पुष २०७९, शुक्रबार
466 shares

पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको सेवा सुविधामा धेरै सुधार भएको देखिन्छ । पूर्वाधारसँगै बिरामीले पनि सहज सेवा पाएका छन् । लुम्बिनी प्रदेशकै ठूलो र धेरै बिरामी उपचारमा आउने अस्पताल प्रशासनिक नेतृत्व अहिले डा. इन्द्र ढकालले गरेका छन् । एक वर्ष अगाडि अस्पतालको नेतृत्व गरेका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा.इन्द्र ढकालसँग समग्र अस्पतालको विषयमा मेचीकाली दैनिकका लागि प्रकाश आचार्यले गरेको कुराकानीको र सारसंक्षेप ।

तपाईं नेतृत्वमा आएपछि अस्पतालमा के–के कामहरू भए ?
म नेतृत्वमा आएको एक वर्ष पुगेको छ । यो बीचमा अस्पतालको आइसियू बेडलाई ६ बाट ३० मा पु¥याइएको छ । त्यस्तै १० बेडको काडियक बिरामीका लागि १० बेड सञ्चालनको तयारीमा छ । मेडिकल वार्ड १९ शैयाबाट ४५ पुगेको छ । इमर्जेन्सी २२ बाट ३५ बेडमा पुग्नुका साथै ट्रमा रूमसमेत तयार भएको छ । डाइलाइसिस सेवा ५ बेडबाट १९ मा पुगेका छ । जसमध्ये २ वटा बेड शेरोपोजेटिभ केशको लागि र १ बेड कोभिड र १ बेड आइसियूका बिरामीका लागि पनि व्यवस्था गरिएको छ । न्यूरो सर्जरी वार्डमा ४ वटा एचडियू बेड सञ्चालनमा आएका छन् ।

५ बेडको बर्न वार्ड सञ्चालमा ल्याइको छ । प्लाष्टिक सर्जरी सेवा सुरु भएको छ । ब्लड बैंकसँग सम्झौता गरिएको साथै अस्पतालमा भर्ना भएका बिरामीहरुलाई रगत तथा रगतजन्य निःशुल्क सेवा उपलब्ध गराउन थालिएको छ । इइजी, सिबिसिटी अल्ट्रासाउण्ड थ्रीडी र फोरडी सेवा सुरु गरिएको छ । कोभिडको तेस्रो लहरमा अक्सिजन पाइपलाइन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइको छ । ग्रेड ए एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

क्याथ ल्याबको संरचना तयार गरी सञ्चालनको प्रक्रियामा छ । ओपिडी इको सेवा सञ्चालन भइहेको छ । ईएचएसका २२ बेड सञ्चालनमा आएका छन् । सिकल सेल काउन्ट र वंशाणुगत रोगको उपचार निःशुल्क गरिएको छ । ओपिडी टिकट र बेड निःशुल्क गराएका छौं । प्रसूति तथा बालरोग नयाँ भवनबाट सेवा सुरु गरिएको छ । ओपिडीको छुट्टै भवनमा सञ्चालनमा आइसकेको छ । ओपिडी, ईआर, लेबर रूम, एमसिएच, एनआइसियू, पिआइसियू, ओटी र पोष्ट अप नयाँ भवनबाट सञ्चालनमा आएको छ ।

पछिल्लो एक डेढ वर्षको अवधिमा लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा धेरै सुधार भएको देखिन्छ, यो कसरी सम्भव भयो ?
लुम्बिनी प्रादेशिक अस्पतालले १ सय वर्षभन्दा बढी पुरानो इतिहास बोकेको छ । अस्पताललाई प्रदेश सरकारले अपनत्व लिएर प्रादेशिक अस्पतालको रुपमा अगाडि बढायो । विगत ४ वर्षमा अस्पतालका भौतिक संरचना विकास हुने क्रम चलेको थियो, कोभिड महामारी आयो । त्यो बेला अस्पतालका सेवाहरु विकास हुनुपर्छ । वृद्धि हुनुपर्छ भन्ने जुन सचेतना ल्यायो, त्यसले गर्दा प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट यस अस्पताललाई विशेष किसिमको गौरवको आयोजनाअन्तर्गत राखेर आवश्यक पूर्वाधार जनशक्ति, उपकरण र अस्पताललाई चाहिने आर्थिक सहयोग प्राप्त भयो । त्यसैअनुसार नंै अस्पतालले विकासको फड्को मार्ने काम अगाडि बढेको हो । जुन अहिले पनि जारी छ ।

चिकित्सक मात्रै हुँदा र अस्पतालको नेतृत्वमा पुगेर काम गर्दा कस्तो फरक पाउनुभयो ?
चिकित्सक भएर काम गर्दा कुनै एउटा व्यक्ति विशेष, एउटा रोगको या एउटा अस्पताललमा उपचारार्थ र भर्ना भएका बिरामीप्रति मात्र उत्तरदायित्व हुनुपर्ने थियो भने प्रशासक भएर काम गर्दा समग्र समाजप्रति उत्तरदायित्व हुन्छ । यहाँ सेवा लिन आउने विरामीहरुले चाहीँ सर्वसुलभ र गुणस्तरकृत सेवा कसरी पाउनुपर्छ भन्ने सँगसँगै अस्पतालको सकारात्मक योगदान कसरी रहन्छ भन्नेतर्फ पनि लाग्नुपर्छ भन्ने विन्दुमा आइएको छ ।

अस्पतालको सेवा प्रवाह गर्दा देखिएका चुनौतीहरु के–के छन् ?
अस्पतालको सेवा प्रवाह गर्दाखेरी मूलतः देखिएको चुनौतीमा चाहिँ प्रदेश सरकारले जुन अपनत्व लिएर यो अस्पताल अगाडि बढाएको छ । प्रदेश सरकारको पनि एउटा पनि एउटा दायरा छ । उसको एउटा सीमा छ । बजेटको सिलिङ छ र हस्पिटल गौरवको आयोजना भएर जुन १ हजार बेडको सञ्चालन गर्ने भनेको छ, त्यो अवस्थामा चाहिँ बजेटको जनशक्तिलगायत सम्पूर्ण समस्याहरु आउँदाखेरि प्रदेश यो अस्पताल थेग्न सक्ने वा नसक्ने या संघीय हस्पिटलमा रुपान्तरण गनुपर्ने कि नपर्ने अवस्था हुन्छ कि हुँदैन भन्ने बहसमा जान जरुरी देखिएको छ । दोस्रो चाहिँ प्रदेश लोकसेवा आयोगले जनशक्तिको आपूर्ति नगर्दा जनशक्तिको कमी भएको छ । विगतमा हाम्रो निश्चित आयको स्रोत सटरबाट वार्षिक १० करोड आम्दामी हुन्थ्यो त्यो घटेर गएको अवस्थामा चाहिँ आर्थिक रुपले पनि अस्पताललाई सुृदृढ गर्नको निम्ति आर्थिक सवलताका कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।

अस्पतालको फार्मेसीमा औषधी पाइँदैन । रातिको समयमा बिरामीका आफन्त बाहिर बाहिर निजी क्लिनिकमा जानुपर्ने अवस्था छ भन्छन्, के हो वास्तविकता ?
सुरुमा हामीले कार्यभार ग्रहण गर्दाखेरी विभिन्न बिरामीबाट आएका समस्यामध्ये यो पनि प्रमुख समस्याको रुपमा आएको थियो । त्यसलाई चाहिँ हामीले चिरेर समाधानको रुपमा अगाडि बढाउपनुपर्छ भनेर बिरामीले अगाडि बाटो क्रस गरेर बाटोपारिका औषधी पसलहरुमा जान नपर्ने बनाउन हामीले गुणस्तरीय औषधी र विभिन्न प्रकारका औषधी हस्पिटलभित्रबाटै तीन ठाउँबाट फार्मेसी सञ्चालन गरेका छौं । ओपिडी फार्मेसी छ । इमर्जेन्सी फार्मेसी छ । इनडोर फार्मेसी छ र बिमाको पनि आफ्नो छुट्टै फार्मेसी र सामाजिक सेवा इकाइअन्तर्गतको पनि फार्मेसी छ । पाँच ठाउँबाट हामीले फार्मेसी सञ्चालन गरेका छौं । अस्पतालमा कुनै उपचारको कारणले गर्दाखेरि औषधीको व्यवस्थापन ढिलो भयो भने बिरामीलाई मर्का नपरोस् भनेर साझाको काउन्टरबाट पनि हामीले औषधि उपलब्ध गराएर काम गरिराखेका छौं ।

प्रादेशिक अस्पताल रिफर सेन्टर जस्तो भयो भन्ने बाहिर सुनिन्छ । खास भएको त्यस्तै हो र ?
स्वभाविक हो । सबै केसहरु हाम्रो दक्षता र सीमाले नथेगेर बाहिर पठाउनुपर्ने अवस्था पनि हुन सक्छ । दोस्रो समस्या के देखिएको छ भने लुम्बिनी प्रादेशिक अस्पताल सेवा बिस्तार भइरहँदा बिरामीहरु वर्गका बिरामीहरु बाहिर रिटन नभएर सबै बिरामी यहाँ आइराख्दाखेरी हामीले साधारण खाले बिरामीलाई धेरै ध्यान दिनुपर्ने जसले गर्दा विशिष्टिकृत सेवा जुन किसिमले विकास भएर जानुपर्ने थियो, सुपर स्पेशलाइजेसन हामी अगाडि बढ्न सकेका थिएनौं ।

साधारण एपेन्डिस, हर्निया, हाइडोसिल, चोटपटकका बिरामीहरु जिल्ला अस्पतालहरुमा रहने र जटिल खाले बिरामीहरु हामीकहाँ आउने किसिमको परिपाटी हुन सक्यो, बिरामी बाहिर रिटन भए भने हामी सुपर स्पेशलाइजेसनतिर जान सक्थ्यौँ । अहिले हाम्रो के भयो भने दैनिक १ हजार ५०० जना बिरामी यहाँ आउने सबै सामान्य खाले बिरामी आउँदाखेरि अस्पतालको जनशक्ति तिनै कुरामा व्यस्त रहँदा सुपरस्पेशलाइजेन डेभलप हुन गाह्रो भइरहेको छ ।

अस्पतालमा दैनिक कति बिरामीहरुले सेवा लिने गरेका छन् ?
दैनिक हाम्रो अघिल्लो सालको डाटा हेर्दाखेरी हाम्रोमा सरदर ६÷७ सय जना थिए भने अहिले यो साल बढेर १२ देखि १४ सयसम्म बिरामी आउँछन् । बीमा दैनिक १५० देखि २०० बिरामीको हाराहारीमा रहने गरेकोमा अहिले चाहिँ ४०० देखि ५०० बिरामी आउँछन् ।

अस्पतालका भावी योजनाहरु के के छन् ?
इमर्जेन्सीलाई हला प्रयोगशाला एवं आइसियु मेडिकल वार्ड भवनमा सारिएको छ । ३० जना एमबिबिएस अध्ययनरत विद्यार्थी इन्टर्नसिपको लागि यस अस्पतालमा आउँदैहुनुहुन्छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडिजिपी अध्ययनरत विद्यार्थीहरु अध्ययनको लागि यस अस्पताल आउँदैछन् । त्यस्तैगरी अस्पतालमा एमबिए, एनआइसियु र सर्पदंश र समसामयिक विषयका लागि ताली सञ्चालन गर्दै छौं । प्रदेशको गौरवको आयोजनाको रुपमा १० तले भवन बन्दै छ ।