सियारीमा कृषि तथा पशु क्लिनिक शुभारम्भ

मेचीकाली संवाददाता

२४ श्रावण २०७८, आईतवार
578 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको सियारी गाउँपालिका–७ अमुवामा रहेको जनता माध्यमिक विद्यालयले दुईदिने निःशुल्क शिविरसहित कृषि, पशु कृषि तथा पशु क्लिनिक शुभारम्भ कार्यक्रम आइतबार सम्पन्न भएको छ । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारुले गोबरको नमुना परीक्षण गरी कृषि तथा पशु क्लिनिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष थारुले विद्यालयको कृषि तथा पशु क्लिनिक सञ्चालन गरेकोमा विद्यालयलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै विद्यालयलाई कृषि प्रयोजनका लागि आवश्यक पर्ने जग्गा लिजमा लिएर विद्यार्थी र स्थानीय कृषकहरूलाई कृषि शिक्षाक्षेत्रमा अगाडि बढाउनु पर्नेमा जोड दिए । साथै उनले लिजमा लिएको जग्गाको रकम गाउँपालिकाले तिरिदिने प्रतिबद्धता व्यक्त गरे ।

व्यवस्थापन समिति अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारुको प्रमुख आतिथ्यता, कृषि प्राविधिक कार्यक्रम संयोजक सुमित भुसालको स्वागत तथा जनता माविका प्रधानाध्यापक ऋषिराम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।