संविधान र सुशासनलाई प्राथमिकताः प्रदेश प्रमुख शेरचन

मेचीकाली संवाददाता

२५ श्रावण २०७८, सोमबार
660 shares

बुटवल । लुम्बिनी प्रदेशको अस्थिर राजनीतिलाई निकास दिनका लागि लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले संविधानको अक्षरस पालना गरेर अगाडी बढ्ने बताएका छन् । कसैलाई नजिक ठानेर अथवा टाढा राखेर काम नगर्ने बताएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधान र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । उनले राजनीतिक दल तथा नेताहरुलाई संवैधानिक तवरले र सञ्चारकर्मीहरुलाई सवतन्त्र र निष्पक्ष भएर अघि बढ्न सुझाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा ‘आयोजित स्मारिक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले मुलुकको विकास र समृद्धिको लागि सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले आफूहरुका कमी कमजोरीलाई औल्याई दिन समेत आग्रह गरेका छन् । उनले भने, ‘म कुनैपनि पार्टीको सदस्य छैन । न त म सत्ता पक्षको पक्षमा छु न त प्रतिपक्षको पक्षमा छु । म संविधानअनुसार काम गर्छु ।’ उनले लुम्बिनी प्रदेशमा पछिल्लो समयमा भइरहेको राजनीतिक अस्थिरता सहकार्य,सम्वाद र सहमतिबाट हटाउनु पर्ने यदि नभएमा संवैधानिक रुपले अघि बढ्ने संकेत गर्दै प्रतिपक्षी र सत्तारुण दललाई सहकार्य गरेर अगाडि बढ्न सुभाव दिए ।

आफूले अन्तरिम संविधान निर्माणमा आफूले सहमति गरौं भनेर प्रस्ताव राखेको सम्झना गर्दै मुलुकको विकास निर्माणमा सबै एकजुट हुन सुझाव दिएका हुन् । प्रदेश प्रमुख शेरचनले सञ्चारकर्मीहरुलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह गरेका छन् । उनले कसैको प्रलोभनमा नपरि कलम चलाउँन आग्रह गर्दै संविधानले कलमजिवीलाई निर्धक्क रुपमा कलम चलाउन वातावरण दिएको बताए ।

प्रदेशमा बिपक्षी दलले मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध तिन पटकसम्म अविश्वासको प्रस्ताव दर्ता गरेको सन्दर्भलाई उठान गर्दै, अहिले आफुले सत्ता पक्ष र विपक्षको बिबादित बिषयलाई टुंगोमा पुर्याउन, संबिधानमा यो विषयलाई लम्ब्याउन कुनै शब्द नरहेको भन्दै, विशेष अधिवेशन वोलाएको स्पष्ट पारे । पछिल्लो समय देश भ्रष्टाचारले अत्यन्तै कमजोर बन्दै गएको बताउंदै, भ्रष्टाचार न्यूनीकरण भन्दा पनि निर्मुल बनाउने तर्फ सबैले चासो दिनुपर्नेमा जोड दिएका थिए ।

रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति ऋषि धमलाले मुलुकका हरेक गतिविधीमा सञ्चारमाध्यम र सञ्चारकर्मीले सहयोग गरेको बताए । उनले मुलुकको विकास र समृद्धिको यात्रामा कलमजिवीको उल्लेखनीय भूमिका रहने बताए । लुम्बिनी प्रदेशको राजनीति चलखेलले मुलुक नै लज्जास्पद भएको बताउँदै मुलुकले स्वच्छ राजनीति चाहेको उनले बताए । सासंद अपहरण यही प्रदेशमा हुन्छ, एउटा सरकार ढाल्न विपक्षीले ३÷३ पटक अविश्वासको प्रस्ताव दर्ता गर्छन् । उनले थपे, ‘बजेट पास गर्न बेला सत्तारुण दलका सांसद नै बैठकबाट उठेर हिँड्छन् । अत्ति भो ।’
जनताले विकास र समृद्धि चाहेको बताउँदै धमलाले राजनीतिक नेतृत्व नसुध्रिएसम्म विकास सम्भव नहुने बताए । उनले राजनीतिमा नैतिकता ठूलो कुरा हुने बताउँदै सहमति र सहकार्यबाटै अगाडी बढ्न प्रतिपक्ष र सत्तारुण दललाई सुझाव दिए ।

कार्यक्रम बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले विकास निर्माणका सबलमा लम्बिनी प्रदेश मुलुककै उत्कृष्ठ रहेको दाबी गरे । श्रेष्ठले सरकार जनताको पक्षमा रहेको बताउँदै प्रदेशको समृद्धिको यात्रामा प्रदेश सरकारलाई सबैको साथ जरुरी रहेको बताए । उनले कोरोनाको दोस्रो लहरले धेरै प्रभावित रहेको बताउँदै तेस्रो लहरको कोरोना नियन्त्रण र रोकथाममा प्रदेश सरकारले तयारी सुरु गरिसकेको दाबी गरे । उनले सबै जिल्ला अस्पतालहरुको स्तरोन्नती तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने कार्यमा सरकार अग्रसर रहेको बताए ।