पोखराको आकाशमा अस्ताए रूपन्देहीका सिर्जना र गणेश

मेचीकाली संवाददाता

२ माघ २०७९, सोमबार
382 shares

रमेश पराजुली
बुटवल । पोखरामा आइतबार भएको यती एयरलायन्सको जहाज दुर्घटनामा परी रुपन्देहीका दुई जनाले ज्यान गुमाएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका–५ सेरुवाकी जहाज परिचारिका (एयर होस्टेस) २९ वर्षीया सिर्जना थापा र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरका ३६ वर्षीय डा.गणेश थापा सेतीको खोँचमा अस्ताएका हुन् ।

विगत ७ वर्षदेखि यती एयरलाइन्समा कार्यरत सिर्जना काठमाडौंमै बस्थिन् । उनि बेलाबेला छुट्टी हुँदा मात्रै आफ्नो घर सैनामैना आउँथिन् । सिर्जना अन्तिम पटक गएको दसैंमा घर आएकी थिइन् । एक हप्ताको बिदामा आएकी उनी घरमा भाइ बिरामी भएका कारण केही दिन बिदा थप गरी काठमाडौं फर्किएकी थिइन् । सिर्जनाको आइतबार दुईवटा हवाइउडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौंदेखि यती एयरलाइन्सको एटिआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतबारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका उनले शनिबार फोनमा आमा खिमिसरालाई बताएकी थिइन् ।

फोनमा कुरा गर्दा सिर्जनाले आफूलाई बटुक खान मन लागेको बताएपछि आमा खिमिसराले छोरीलाई मन पर्ने बटुक काठमाडौं पठाउने तयारीमा थिइन् । आइतबार माघे संक्रान्ति परेको थियो । बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउने तयारी हुँदै थियो । तर, उनको दुर्घटनामा निधन भएको खबर पाएपछि आमा अझै बेहोस जस्तै भएकी छन् । ‘बटुक धेरै मनपर्छ, अलि धेरै पठाइदिनु है मम्मी’ भन्ने वाक्य खिमिसराको मनमा अझै गडेर बसेको छ । आइतबार बिहान ११ः३० बजेतिर पोखरामा विमान दुर्घटना भयो भन्ने समाचार जताततै फैलियो । पछि यती एयरकै जहाज खसेको थाहा पाएपछि उनलाई पत्याउन कर लाग्यो र सैनामैना नगरपालिका–५ स्थित सिर्जनाको घरमा पनि रुवावासी सुरु भयो । सिर्जनाका छिमेकी जम्मा हुन थाले, सिंगो गाउँ नै शोकमा परिणत भयो ।

भारतीय सेनाबाट अवकाश प्राप्त बुबा रिमबहादुर र खिमिसराकी एक्ली छोरी हुन् सिर्जना । उनका तीन दाजुभाइ छन् । उनको निधनपछि सैनामैनामा शोकमा रहेका आफन्त, छिमेकीले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेका छन् । सिर्जनाले बुटवलस्थित सिसिटी कलेजमा स्नातक तहसम्म अध्ययन गरी काठमाडौंस्थित सहारा इन्टरनेशनल कलेजबाट एयरहोस्टेज अध्ययन गरेकी थिइन् । उनी २०७२ देखि यती एयरलाइन्समा आबद्ध भएकी थिइन् ।

यता, रूपन्देहीको तिलोत्तमा–४ डिंगरनगरका डा.गणेश थापाको पनि आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गएको छ । पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत ३६ वर्षका डा. थापा आइतबार काठमाडौंबाट पोखरा जाँदै गर्दा सेतीको खाँेचमा अस्ताएका छन् । थापाको परिवार काठमाडौंमा बस्दै आएको थियो । उनी परिवारका एक्ला छोरा हुन् । डा. थापाकी बहिनी नाता पर्ने यशोदा रानाका अनुसार गणेशले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए ।

पोखरामा काम गर्नुअघि डा.थापाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका डा. थापालाई नजिकबाट चिन्ने रवि रानाले बताए । चिकित्सकसमेत रहेकी डा.थापाकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी भने काठमाडौंमा बस्थे । श्रीमती महर्जनले काठमाडौंमा एमडी गरिरहेकी छिन् । बुबा पदमबहादुर बुचा र आमा सूर्यकुमारी बुचाका एक मात्र छोरा थिए डा. गणेश । चिकित्सक बन्ने छोराको इच्छाअनुसार बुचा दम्पतीले दुःख गरेर गरेर छोरालाई चिकित्सक पढाएका थिए ।

आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एनवाइटी– ६९१, नाइन एन–एएनसी कलसाइन जहाज पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । जहाजमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । वरिष्ठ पाइलट कमल केसीको नेतृत्वमा जहाज उडेको थियो । दुर्घटनामा जहाजमा सवार सबैको मृत्यु भएको छ ।

पोखरा दुर्घटनामा व्यावसायिक आन्तरिक उडानतर्फ नेपालले अहिलेसम्मकै ठूलो र दर्दनाक मानवीय क्षति व्यहोरेको छ । नेपालको आन्तरिक उडान इतिहासमै यो सबैभन्दा ठूलो दुर्घटना पनि हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा यति धेरै मानवीय क्षति भएको यो पहिलो दुर्घटना हो ।

सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । सोमबार बिहान भेटिएको जहाजको ‘ब्ल्याक बक्स’ उक्त जाँच समितिले बुझाइसकिएको छ । ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ । जसमा विमान दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् । उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इञ्जिनको आवाजसँगै क्याविन, ककपिटआदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।