सिद्धबाबामा स्कार्पियो जीपमाथि पहिरो खस्दा ४ जना घाइते

मेचीकाली संवाददाता

२६ श्रावण २०७८, मंगलवार
722 shares

फोटोः तोया लम्साल

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा मंगलवार बिहान पहिरोमा स्कार्पियो जीप पर्दा दुर्घटना भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेका अनुसार दोभानतर्फबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो गाडीमाथि ढुंगा खसेपछि गाडी नै तिनाउ खोलामा खसेको हो ।

दुर्घटनामा परी चारजना घाइते भएका छन् । दुर्घटनामा परी पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साका ५४ वर्षीय बाबुराम पाण्डे, २२ वर्षीय विनोद पाण्डे, १८ वर्षीय अमित बस्याल र ४२ वर्षीय गङ्गा दराई घाइते छन्। तीमध्ये बाबुरामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको पाण्डेले जानकारी दिए । ढुंगा लागेर गाडी सडकबाट १०० मिटर तल तिनाउ नदीमा पुगेको छ ।