व्यापार संघको लगानीमा प्रादेशिक अस्पतालमा ब्लड बैंक

मेचीकाली संवाददाता

२६ श्रावण २०७८, मंगलवार
636 shares

बुटवल । रुपन्देही व्यापार संघको लगानी तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको छ । मंगलबार ब्लड बैंक स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापार संघबीच संस्थागत रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

ब्लड बैंक स्थापनाका लागि १० बुँदे सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट अध्यक्ष सूर्यबहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेसु डा. राजेन्द्र खनाल तथा रुपन्देही ब्यापार संघको तर्फबाट अध्यक्ष यमलाल लोहनी, महासचिव दयानिधि भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा अस्पतालको हाताभित्र स्थापना हुने ब्लड बैंकको लागि भौतिक संरचना अस्पतालले बनाउने र त्यसलाई आवश्यक पर्ने उपकरण रुपन्देही व्यापार संघले उपलब्ध गराउने उल्लेख भएको छ । ब्लड बैंक सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति गठन गर्ने जसमा रुन्देही व्यापार संघको तर्फबाट ३, अस्पताल विकास समितिबाट २, स्थानीय सरकार बुटवल उपमहानगरपालिकाबाट १ र जिल्ला प्रशासनबाट १ जनाको प्रतिनिधित्व रहने छ । यसैगरी अस्पताल प्रशासन र लेखा शाखाबाट १–१ जना अनिर्वाय आमन्त्रित सदस्य राख्ने व्यवस्था गरिएको छ ।

सो परियोजना केन्द्रबाट आर्जन हुने आय सोही परियोजना सञ्चालन, मर्मतसम्हार र विकासका लागि खर्च गरिने बताउँदै आयव्यवलाई पारदर्शी राख्न र चलाउन छुट्टै बैंक खाता खोलिने छ भने गरिब, असाय र अशक्त बिरामीलाई निशुल्क सेवा दिने प्रतिबद्धता सम्झौतामा जनाइएको छ ।
स्थापना गर्न लागिएको ब्लड बैंकमा अत्याधुनिक प्रविधिको प्रयोग र व्यवस्थापन रहने जनाइएको छ ।

नेपालमा नै सिमित स्थानमा रहेका बहुउपयोगी खालका मेसिनहरुबाट रगतको विविधिकरण गरी प्रयोगमा ल्याउने विधि अपनाइने छ । ब्लड बैंकको आवश्यक तयारी थालिएको जनाउँदै मेसिन छनोट र खरिदको काम सुरु भएको अध्यक्ष भट्टराईले बताए । ब्लड बैंक स्थापनाको लागि मेसिन खरिदमा झण्डै २ करोडको लगानी लाग्ने अनुमान गरिएको व्यापार संघका अध्यक्ष लोहनीे बताए । नेपालमा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालनमा रहेको ब्लड बैंकले मात्र रगत वितरण गर्दै आएको अवस्था छ । यो सम्झौताबाट त्यो एकाधिकार पनि तोडिने भएको छ ।

त्यसमा अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले स्वास्थ्य क्षेत्रको सुधारका लागि आज ऐतिहासिक र चुनौतिपूर्ण कामको थालनी भएको बताउँदै अस्पतालमा ब्लड बैंकको स्थापनापछि उपचार गर्ने बिरामीको लागी ठूलो राहत पुग्ने धारणा राखका थिए ।
उनले नेपालका कुनै एक समूहको कब्जामा रहेको ब्लड बैंकले जनअपेक्षाअनुसार सेवा नदिएरहेको गुनासो पटकपटक सुन्नु परेको हुदाँ त्यसको अन्त्यका लागि यो परियोजना अगाडी सारेको बताउदै अब रगत संकलन र त्यसको सही व्यवस्थापनका लागि त्यस कार्यमा सक्रिय संघसंस्था, समूह एवं व्यक्तिहरुसँग सहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाए ।

केन्द्र स्थापनाका लागि आर्थिक जुटाउने प्रतिबद्धता गरेको रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहोनीले अस्पतालसंग पवित्र कार्य गर्नको लागि सहकार्य गरेको बताउँदै ब्लड बैंकको लागि आवश्यक सबै उपकरण आफूहरुले व्यवस्था गर्ने सहमति भएको जनाए । उनले संघले व्यवसायीक हितबाहेक सामाजिक काममा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा आफूलाई केन्द्रीत गरेको उल्लेख गर्दै यस क्षेत्रको आवश्यक्ता र नागरिकको जिवनसँग जोडिएको रगत व्यवस्थापन गर्ने कामको सुरुवात गरेको बताए ।

कार्यक्रममा अस्पतालका मेसु डा.राजेन्द्र खनालले अस्पतालभित्र ब्लड बैंक भएपछि बिरामीको लागी सहज हुने बताउँदै यो परियोजना सुरु भएमा उपचारमा नागरिकहरुको पहुँच बढ्ने विश्वास व्यक्त गरे ।