हात्तीपाइले रोग निवारणका लागि १५औं चरणको अभियान संचालन हुने

मेचीकाली संवाददाता

२७ माघ २०७९, शुक्रबार
328 shares

पार्वती आचार्य

कपिलवस्तु । कपिलवस्तुमा हात्तीपाईले रोग निवारणका लागि फागुन ११ गते देखि अभियान संचालन गरिने भएको छ । विगत १४ बर्ष देखि अभियान संचालन हुँदै आएको यस जिल्लामा सो अभियानबाट हात्तीपाईले रोग निवारण नभएपछि यस बर्ष १५ औं चरणको अभियान संचालन हुन लागेको हो ।

हात्तीपाईलको जीवाणु फेला परेपछि यस बर्ष पुन अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवसतुले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा आयोजना गरेको हात्तीपाईले रोगविरुद्धको अभियान सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा उक्त बिषयमा जानकारी गराइएको हो ।

हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने कार्यक्रमलाई यस बर्ष थप प्रभाबकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले तयारी तिब्र पारेको छ । जिल्लाका पत्रकारहरु संग अन्तरक्रिया गर्दै स्वास्थ्य कार्यालयले कपिलबस्तु सहित नेपालमा गतबर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीन थरिका औषधी खुवाइदै आएको छ ।

केही व्यक्तिले बर्षै पिच्छे खाइरहने र केही व्यक्ति खादै नखाइदिंदा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुँदै आएको जनस्वास्थ्य निरिक्षक उमेश घिमिरेले जानकारी दिनुभयो । जिल्लामा हात्ति पाईलेको औषधी ६ लाख ४२ हजार नागरिकहरुलाई खुवाउने लक्ष्य रहेको छ ।

बिगतका वर्षहरुमा संचालित अभियान त्यति प्रभावकारी नभएको भन्दै यसवर्ष प्रभावकारी बनाउनकालागि बिद्यालयतहबाटै औषधीको खुवाउने घिमिरेले बताउनुभयो । फागुन ११ देखि २४ गतेसम्म अभियान सन्चालन गरि फागुन २५ देखि २७ गतेसम्म दुईवटा चरणमा यसको अनुगमन गरिने उहाँले बताउनु भयो ।

२ बर्ष माथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले बताउनु भयो । थपिएको आईभरमेक्टीन सहित डिईसि र एडभेन्डाजोल गरी ३ प्रकारका औषधी खुवाईने छ । ‘यी औषधी २ बर्ष सेवन गरे हात्तीपाईलेबाट छुटकारा पाईने छ । रोगको परजीवी जो कोहिमा पनि हुन सक्छ, त्यसैले सबैजनाले खोजी खोजी औषधीको सेवन गरौं, र जीवन भर अशक्त हुनबाट बचौ’, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख श्रीवास्तवले भन्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले लामो समयदेखि संचालन गरिएको यस हात्तिपाईले रोग निवारण अभियानलाई सफल पार्न संचार क्षेत्रको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरी स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरासियाले फागुन ११ गते देखि संचालन हुने अभियानमा २ बर्ष माथिका ६ लाख भन्दा बढी नागरिकलाई हात्तिपाईलेको औषधि खुवाउने बताउनु भयो । अभियानमा ६ सय ११ जना स्वास्थयकर्मी र १ हजार ५ सय ५ जना महिला स्वंयमसेविका परिचालन गरिनेछ । अभियान सफलपार्न सरोकारवाला बिभिन्न संघ संस्थाहरु परिचालन गरिने छ । २०६३ साल देखि संचालन गरिएको यस अभियानलाई सफल पार्न सबैले एकै पटक हात्तिपाईलेको औषधी ढुक्कका साथ खान जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले आग्रह गरेको छ ।