लुम्बिनी: सत्तापक्षले बैठक बहिस्कार गरे पनि संसद् चलाउने तयारी

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
619 shares

बुटवल । आज बुधवार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्षले नै बहिस्कार गर्ने संकेत गरेको छ । तर, प्रदेश सभा सचिवालयले सत्तापक्षले संसद् बहिस्कार गरे पनि बैठक सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सरकारले आह्वान गरेको अधिवेशन नभई प्रदेश सभाका एक चौथाइ सदस्यले समावेदन गरेर अधिवेशन आह्वान भएको भन्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले कार्यसूचीअनुसार नै बैठक अगाडि बढ्ने लोकान्तरलाई बताए । अहिले सत्तापक्षले बैठक बहिस्कार गरे के होला भन्न चासो बढेको छ ।

आजको बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्ने, छलफल र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । सरकार प्रवक्ता बैजनाथ चौधरीले बैठक बस्नु अगाडिसम्म सर्वोच्चको आदेश कुर्ने र त्यसपछि के गर्ने भन्ने निर्णय मुख्यमन्त्री शंकर पोखरेल आफैँले निर्णय गर्ने बताए ।

मुख्यमन्त्री पोखरेल संसद् फेस गर्ने मुडमा छैनन् ।