

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्तत पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएका हुन । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएको पुष्टि गरे ।
प्रदेशसभा विशेष अधिवेशन आह्वान भएकै दिन साढे तीन वर्षपछि प्रथम मुख्यमन्त्री पोखरेलले आफ्नो पद छाडेका हुन् । पोखरेलको सत्ता ३ महिनादेखि संकटमा थियो । बुधबार बिहान भएको एमाले संसदीय दलको बैठमा पोखरेललाई आफ्नै पार्टीका सांसदले अफ्टयारोमा परेपछि राजीनामा दिन सुझाएका थिए ।
२०७४ फागुन ३ गते पोखरेलले पहिलो पटक दुई तिहाई बहुमत प्रदेश सरकारको नेतृत्व गरी मुख्यमन्त्रीको सपथ ग्रहण गरेका थिए । विपक्षी गठबन्धनले तेस्रो पटक प्रदेशसभामा पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । त्यसको बुधबारदेखि छलफल हुने कार्यसूची थियो ।
एमाले र माओवादी अलग अलग भएपछि शंकर पोखरेल नेतृत्वको सरकार संकटमा पर्न सुरु भएको थियो । सरकारबाट माओवादी बाहिरएर वैशाख ६ गते पहिलो पटक पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
