लुम्बिनी प्रदेशमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानको शुभारम्भ

मेचीकाली संवाददाता

११ फाल्गुन २०७९, बिहीबार
165 shares

बुटवल । मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सुरु भएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको आज एक संक्षिप्त समारोहबीच दाङको देउखुरीबाट शुभारम्भ गरेका छन् । राप्ती उपत्यकाको देउखुरी पिपरी स्थित स्वास्थ्य चौकीमा आयोजित संक्षिप्त अभियानको सुभारम्भ गरेका हुन् ।

तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा औषधि खुवाउने भएकाले सरकारले सञ्चालन गरेको अभियानलाई साथ दिएर आफूलाई पायक पर्ने ठाउँमा पुगेर औषधि सेवन गर्न मुख्यमन्त्री गिरीले आग्रह गरे ।

लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँकेसहित मुलुकका १५ जिल्लामा यो अभियान सुरु भएको हो । अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन भएको हो ।

दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार मन्त्री इन्द्रजीत चौधरी, स्वास्थ्य सचिव विकास देवकोटा, पालिका अध्यक्ष प्रकाश विष्टलगायत सहभागी थिए ।

औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ । हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । उसबाट मानिसको ज्यान पनि जानसक्ने चिकित्सकको भनाई छ । सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।