गंगौलियामा निःशुल्क आँखा शिविर सम्पन्न

मेचीकाली संवाददाता

१९ फाल्गुन २०७९, शुक्रबार
297 shares

पार्वती आचार्य
कपिलवस्तु, फागुन १९ । बाणगंगा नगरपालिकाको वडा नं. ३ गंगौलियामा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

बाणगंगा नगरपालिका वडा नं. ३ को आर्थिक सहयोग, मानव अधिकारकालागि युवा मञ्च कपिलवस्तुको आयोजना, इन्सेकको समन्वय र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरञ्ज द्वारा सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

शिविरमा चिफ मेडिक डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको संयोजकत्वमा वडा नं. ३ गंगौलियाका ५ सय ३३ जनालाई आँखा जाँच गराई निःशुल्क औषधी वितरण तथा परामर्श गरिएको छ । यस्तै ७१ जना नागरिकहरुले मोतिया विन्दुको निःशुल्क अप्रेसन सेवा लिएका छन् भने न्यून दृष्टिका लागि १ सय ९२ जनालाई निःशुल्क चश्माको सेवा दिईएको अस्पत्तालका दृष्टि विशेषज्ञ सुसिल कार्कीले जानकारी दिए । चिफ मेडिक डाइरेक्टर डा. कटुवालले फागुन १९ गते ७१ जना बिरामीहरुको अप्रेसन गरेका थिए ।

सेवाग्राहीहरुले घर आँगनमै आएर सेवा दिएको भन्दै आयोजक तथा अस्पतालको प्राविधिक टोलिलाई आशीर्वाद दिएका छन् । सेवाग्राहीले सेवा भनेको यस्तो हुनुपर्छ । बर्षौदेखि आखाँको मोतिया बिन्दुको अप्रेसन गर्ने भन्दा भन्दै यत्तिकै बसेका थियौं । आज हामी ज्येष्ठ नागरिक तथा विपन्नहरुलाई यो सेवा भगवान सरह भएको छ । धेरैजसो पैसा नभएर उपचार गर्न सकिएको थिएन अर्को कुरा घरबाट अस्पत्ताल सम्म लैजाने घरमा कोही नहुँदा उपचार गर्न जिल्ला बाहिर जान नसकिएको सेवा ग्राही जुनादेवी नेपाली, सत्यनारायण थारु, बाणिराज पन्तले बताए ।

नगरपालिका वडा नं. ३ गंगौलियास्थित लुम्बिनी भिलेज कलेजमा सञ्चालन गरिएको शिविरमा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, उपमेयर रिताकुमारी चौधरी, वडा नं. ३ वडा अध्यक्ष टेकबहादुर झेंडीमगर, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालु स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, वडा सदस्यहरुलगायतले अनुगमन गरेका थिए ।

कार्यक्रम मानव अधिकारकालागि युवा मञ्च कपिलवस्तुका अध्यक्ष ईन्दिरा पन्तको अध्यक्षतामा वडा अध्यक्ष, वडा सदस्यहरु, चिफ मेडिक डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको प्राबिधिक टोलीलगायतको सहभागिता रहेको थियो । शिविर फागुन १९ र २० गते सञ्चालन हुने आयोजकले जनाएको छ ।