एकैदिन ८१ जना फरार अपराधी पक्राउ

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
524 shares

पार्बती आचार्य
कपिलवस्तु । कपिलवस्तु प्रहरीले मंगलबार जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जना फरार अपराधिहरुलाई एक दिनमै पक्राउ गर्न सफल भएको छ ।

कपिलवस्तु जिल्लामा विगत विभिन्न मितिमा लागुऔषध, लुटपिट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जूवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका ८१ जनालाई २४ घण्टाभित्रमा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
कपिलवस्तु जिल्ला प्रहरी प्रमुखको रुपमा आएदेखि ‘फ्याप’ कार्यक्रम मार्फत त्यसलाई प्राथमिकता दिई सूचना संकलन एवं प्रहरी कार्यमा सक्रियता दिएसँगै एकै दिनमा सफलता हासिल गर्न सकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

कपिलवस्तुका प्रहरीलाई विभिन्न कार्यक्रममार्फत सकृय बनाएसंगै कपिलवस्तु प्रहरीले फरार पक्राउमा सफल भएको एसपी कार्कीले बताए । ‘अपराध गरेर समाजलाई दुषित पारेर बिभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन; बरु अपराध गर्नेहरू एक दिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौँ,’ एसपी कार्कीले भने ।

एकैदिन पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसँगै जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिंगे, पकडीले सबैभन्दा धेरै फरार अपराधी रहेका छन् । यसरी पक्राउ गरिएका फरार प्रतिवादिहरुलाई फैसलाबमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको डिएसपी धर्मराज भण्डारीले बताए ।

कसुर गरेर दण्ड भुक्तान नगरी समाजमा लुकेर बस्ने सुविधा कसैलाई हुँदैन । कानुन सबैलाई लाग्छ र कानुन छलेर बसौँला भनेर सोच्ने दिन गएको समेत पक्राउ टोलीमा खटिएका एक प्रहरी अधिकृतले बताए । यसरी खटिएर काम गरी सफलता हात पर्दा सज्जन नागरिकको मनोबल बढ्ने र अपराधीको मनोबल घट्ने प्रहरी निरीक्षक सुकदेव पौडेलले जानकारी दिए ।

विशेष गरी सवारी ज्यान, लागुऔषध, जालसाजी, जुवा, चेक अनादर, अंगभंग, वनपैदवार, लुटपिट, कुटपिट आदि गरी १२ वटा विभिन्न कसुरमा संलग्न भई अदालतको फैसलापश्चात फरार रहेका ८१ जना अपराधीहरुलाई विशेष सूचनाको विकास गरी सोही आधारमा एकैदिनमा पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक रेग्मीले बताए । साथै आगामी दिनमा फरार पक्राउलाई थप तिब्रता दिइनेसमेत उनले जानकारी दिएका छन् ।