जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक: स्वास्थ्य मापदण्ड पालना गरौँ

मेचीकाली संवाददाता

२३ चैत्र २०७९, बिहीबार
375 shares

पार्वती आचार्य

कपिलवस्तु । कारोनाको जोखिम बढेपछि जिल्ला कोभिड व्यवस्थापन समिति कपिलवस्तुले चेकजाँचमा कडाइ गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति को बैठकले चेकजाँचमा कडाइ गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले यस अगाडिको डिसीएमसीको निर्णय र पछिल्ला अवस्थाको बारेमा समीक्षा गरेको छ । यस्तै स्वास्थ्य कार्यालय कपिलवस्तुबाट कोभिड–१९ को सम्बन्धमा हालको वस्तुस्थितिको बारेमा जानकारी गराइएको थियो । गृह मन्त्रालयको चैत २२ गते को पत्रबाट कोभिड–१९ नयाँ भेरियन्ट नयाँ संक्रमणको दर बढ्दो क्रमलाई मध्यनजर गर्दै समन्वयको लागि बैठकमा जानकारी गराउँदै सम्पूर्ण पालिकाहरु, सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा माक्स तथा सेनिटाइजरको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।

यस्तै सबैले स्वास्थ्य प्रोटोकलको पालना गर्ने र गराउने, भारतीय सिमा नाकामा हुने आवतजावतलाई मध्यनजर गर्दै सिमानाकासँग जोडिएका पालिकाहरु तथा स्वास्थ्य कार्यालयले समन्वय गरी स्वास्थ्य सजगता अपनाउने, स्थानीयतहहरु संग समन्वय गरी स्वास्थ्य कार्यालय कपिलवस्तुले कोभिड–१९ न्यूनीकरणका लागि सन्देशमूलक सामग्रीहरु तयार गरी प्रचारप्रसार गर्ने र कोभिड–१९ को नयाँ भेरियन्टबाट जोगिन एफएम, रेडियो तथा पत्रपत्रिकामार्फत नेपाल पत्रकार महासंघले सहयोग पुराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

यसैगरी विभिन्न कार्यालय तथा संघसंस्थाहरुले संचालन गर्ने गोष्ठी, कार्यक्रमहरुमा स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कपिलवस्तुले कोभिड–१९ को न्यूनीकरण गर्न भिडभाड हुने स्थानहरुमा माक्स सेनिटाइजरलगायतका सामाग्रीहरु बितरण गर्ने निर्णयहरु गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति कपिलवस्तुले जनाएको छ ।

बैठकमा कपिलवस्तु नगरपालिकाका मेयर, यशोधरा गाउँपालिकाका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, कपिलवस्तु अस्पतालका प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, यातायात व्यवसायीलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।