एक वर्षमा १८ हजार बढीको आँखा जाँच, २ हजार बढीको निःशुल्क शल्यक्रिया

मेचीकाली संवाददाता

२४ चैत्र २०७९, शुक्रबार
262 shares

सुनिल आचार्य

कपिलवस्तु । एक आँखा अस्पतालले चालू आर्थिक वर्ष फागुन महिना सम्म १८ हजार ६ सय १६ जनाको निशुल्क आँखा जाँच र २ हजार ४ सय २९ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको नियमित कर्मचारी बैठक मार्फत यो तथ्यांक बाहिर ल्याएको हो ।

बैठकमा अस्पतालको चालू आ.ब. २०७९÷०८० को लक्ष्य तथा प्रगतिको बारेमा छलफल गरिएको थियो । अस्पतालले ओपिडि तर्फ ७२ हजार ३ सय ६६ लक्ष्य राखिएकोमा चालू आ.ब.को फागुन महिना सम्म ५३ हजार ५ सय ६० अर्थात ७४ प्रतिशत लक्ष्य हासिल गरिएको छ । यस्तै सोही अवधीमा मोतिबिन्दु शल्यक्रिया तर्फ ८ हजार ९ सय ४५ लक्ष्य राखिएकोमा ७ हजार ६ अर्थात ७८ प्रतिशत प्रगति हासिल गरेको ओपिडि इन्चार्ज ओपेन्द्र चन्दले जानकारी दिए ।

फागुन सम्म १२ सर्जिकल शिबिर र १४ वटा पिक अफ स्क्रीनिङ गरिएकोमा १८ हजार ६ सय १६ को आँखा जाच गरिएको र २ हजार ४ सय २९ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको बताइएको छ । त्यसैगरी कान सेवा तर्फ ७१ प्रतिशत लक्ष्य हासिल भएको छ । अस्पतालको आम्दानी तथा खर्चको बारेमा लेखापाल जेनिशा थापाले जानकारी गराईन् ।

बैठकमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल द्वारा संचालित कृष्णनगर रिफरल सेन्टरको लक्ष्य तथा प्रगति बारेमा समेत छलफल गरिएको थियो । जस अनुसार ओपडि तर्फ ७० प्रतिशत,चस्मा जाँच तर्फ ६४ प्रतिशत, शर्मर तर्फ १ सय ८५ प्रतिशत र माइनर सर्जरी तर्फ १ सय २० प्रतिशत लक्ष्य हासिल गरिएको सेन्टर इन्चार्ज रजनिश श्रीवास्तवले जानकारी दिए ।

बैठक आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुलक्ष्मी कटुवालको अध्यक्षता तथा प्रशासकीय अधिकृत जसराज बिश्वकर्माको संचालनमा बैठक सम्पन्न भएको थियो ।