भूमिकास्थानका स्वास्थ्य चौकीमा स्वास्थ्य उपकरण तथा सुरक्षा सामग्री प्रदान

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
795 shares

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ५ र ६ का युवाहरुले अत्यन्तै उदाहरणीय काम गरेका छन् । विदेश तथा देशका दुई ठुला सहर काठमाडौँ र बुटवल क्षेत्रलाई कर्मथलो बनाउँदै आएका युवाहरुले व्यक्तिगत पहलमा स्वास्थ्य उपकरण तथा अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गरेका हुन् ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी भूमिकास्थान नगरपालिका ५ र ६ का दुई स्वास्थ्य चौकी, एक प्रहरी चौकी र त्यहाँ कार्यरत ३१ जना स्वयम् सेविकाहरुलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो । पश्चिम नेपालमै उत्कृस्ट बर्थ सेन्टरको उपमा पाएको भूमिकास्थान नगरपालिका– ६, खिल्जी स्वास्थ्य चौकीलाई १ थान डेलिबरी बेड, एक थान डप्लर, केही थान थर्मल गन, थर्म मिटर, माक्स, स्क्रिन (पर्दा), अक्सिमिटर, ग्लोब्स, भिटामिन सि, डि, मल्टिभिटामिन, सिटामोल, दउ सेट, कफ सिरपलगायत सामाग्रीहरु सहयोग प्रदान गरिएको थियो ।

त्यसैगरी भूमिकास्थान नगरपालिका– ६ असुरकोटको हितमा एकथान बेड, अक्सोमिटर, थर्मल गन, दउ सेट, माक्स, सेनिटाइजर, भिटामिनहरु, कफ सिरप, उउभ सेट, ग्लोभ्सलगायतका सामग्रीहरु सहयोग प्रदान गरिएको थियो । त्यस्तै ती दुई वडामा कार्यरत ३१ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुका लागि, झोलामा–अक्सोमिटर, थर्मोमिटर, माक्स, सेनिटाइजर, ग्लोभ्स र औषधीको प्याकेज बनाएर एकएक थान सहयोग प्रदान गरिएको थियो ।

गाउँमा कोरोना संक्रमण पुष्टि भएकाहरुको अक्सिजन लेवल, आफ्नो शरीरको तापक्रम कति छ भन्नेसम्म चेक गर्ने अवस्था नभएकोले यी स्वास्थ्य सामग्री सहयोगपश्चात् न्यूनतम कुराहरुको समस्या सुल्झने र अगाडिको उपचार के कसरी गर्ने भन्ने जानकारी तथा निर्णय लिन सजिलो हुने यस अभियानका सदस्य सन्जय गैरेले बताए ।

यसरी युवाहरु एकजुट भएर गाउँका लागि सहयोगी बनेको यो नै पहिलो घटना भने होइन । यो समूहले एम्बुलेन्स, स्वास्थ्य शिविर, मन्दिर निर्माण, अशक्तहरुको उपचारमा सहयोगलगायत दर्जनौँ सामाजिक कामहरु गर्दै आएको छ ।

विभिन्न सामाजिक कामहरुमा खिल्जी असुरकोट सेवा समाजले समन्वयन गर्दै आइरहेको छ । यसपालि मालारानी– ५ स्थायी घर भई हाल अस्ट्रेलिया बस्दै आएका नारायण पन्थीले पनि ३४ थान अक्सिमिटर सहयोग गरेका छन् । करिब २ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा यसपालि, खिल्जी–रुपन्देही सम्पर्क समाज पनि सहयोगी भूमिकामा जोडिएको थियो । अर्घाखाँची बुलेटिनबाट