आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

मेचीकाली संवाददाता

६ बैशाख २०८०, बुधबार
198 shares

काठमाडौं । बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ ।

मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिएको छ ।

भिटामिन ए खुवाउने कार्यक्रम २०५० सालदेखि सुरु भएको हो भने जुकाको औषधि २०५६ सालदेखि थालिएको हो । बैशाख र कात्तिकमा गरी वर्षमा दुई पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ ।