क्याम्पस तोडफोडको घटनाप्रति शिक्षक अभिभावक संघको ध्यानाकर्षण

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
498 shares

बुटवल । बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस शिक्षक अभिभावक संघले क्याम्पसमा भएको तोडफोडको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्यापसमा सेमेस्टर प्रणालीको विरोध गरिरहेका दुई विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीले गत मंगलबार बिहान लेखा र प्रशासन शाखामा तोडफोड गरेका थिए । बिहीबार बसेको शिक्षक अभिभावक संघको बैठकले शैक्षिक संस्थामा भएको आक्रमणको निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘क्याम्पस प्रशासन, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत विभिन्न विद्यार्थी संघठनहरु बीच छलफल गरी समाधान गर्नुपर्नेमा केही खराब सोच भएका उशृंखल विद्यार्थीहरुले यस क्षेत्रकै नमुना क्याम्पसको रुपमा रहेको शैक्षिक संस्थामा आक्रमण गर्नु अत्यन्तै नराम्रो काम हो । यसले समाजमा नकारात्मक सन्देश लैजान्छ ।’, शिक्षक अभिभावक संघका अध्यक्ष लोकराज शर्माले भने ।

क्याम्पसमा उत्पन्न भएको समस्यालाई तत्काल समाधान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा शिक्षक अभिभावक संघले जोड दिएको छ । क्याम्पसले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कार्यक्रम हटाई पूर्णरुपमा स्वायत्तताका कार्यक्रम सञ्चालन गरी क्याम्पसलाई मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने थलो बनाउन लागेको विद्यार्थी संगठनहरुको आरोप छ ।

विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दबाब दिँदै आन्दोलन गर्दै आएका छन् ।