सिद्धबाबा हस्पिटल सय शैयाको सुविधा सम्पन्न बन्दै

मेचीकाली संवाददाता

१२ बैशाख २०८०, मंगलवार
291 shares

बुटवल, वैशाख १२ । स्थापनाको छोटो समयमा सेवा विस्तार गर्दै अघि बढेको बुटवलस्थित शिद्धबाबा हस्पिटल प्रालि सय शैयामा बिस्तार हुने भएको छ । १० आइसियू सहित २४ बेडमा सञ्चालित अस्पताल आफ्नै भवनमा १०० बेडमा अस्पतालको रूपमा विस्तार गर्न लागिएको हो ।

अस्पतालका अध्यक्ष डा. दिपेश प्रधानले गुरूयोजना बनाएर बुटवल र मणिग्रामको बीच भागमा आफ्नै अस्पताल बनाउने योजना अगाडि सारिएको बताए । अस्पताल छैठौं वर्षमा प्रवेश गरेको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक सहित १०० जना कर्मचारी कार्यरत रहेका छन् । यस क्षेत्रमै दम, छाती तथा श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सेवाका कारण अस्पताल विरामीको रोजाइमा छ । साथै मुटु, फोक्सो, मृगौला, दम, युरोसर्जरी, हाडजोर्नी, महिला तथा स्त्रीरोग, नसा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सुविधा दिँदै आएको उनले बताए ।

अस्पतालले छैठौं वार्षिकोत्सव ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा मधुमेह निःशुल्क परीक्षण, ६ सय रुपैयाँमा थाईराईड जाँच, ल्याब सेवामा १० प्रतिशत छुट, होलबडीमा ३० प्रतिशत छुट दिने हस्पिटलका अध्यक्ष दिपेश प्रधानले बताए ।

अस्पतालका निर्देशक यमन चन्द प्रधानले विशेषज्ञ चिकित्सकीय सेवा न्यून शुल्कमा दिदै आएको बताए । ‘ओपिडि शुल्क २ सय रुपैयाँ रहेको छ’ उनले भने । यसबाहेक सामाजिक उत्तरदायित्वमा समेत अग्रस्थानमा रहेको उनले बताए । यसैगरी ७० वर्षभन्दा माथि, विपन्न, अपाङ्गता भएका बिरामीहरुलाई ओपिडि निःशुल्क सेवा दिदै आएको उनले बताए । आधुनिक प्रविधिहरु भित्र्याउँदै सेवा बिस्तारमा जोड दिएको उनले बताए ।

यसैगरी विस्तारित ओपिडि सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए । अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपाने हालसम्म १ लाख बढी बिरामीहरुलाई सेवा दिन सफल भएको जानकारी दिए । हस्पिटलमा नेपाल सरकारको मान्यता अनुसार निःशुल्क डायलोसिस सेवा समेत दिदै आएको छ । ‘पाँच वटा मेशिनबाट निरन्तर २० जनालाई दैनिक सेवा दिदै आएका छौ’ न्यौपानेले भने । अस्पतालले गर्ने डायलासिसको खर्च समयमा सरकारबाट प्राप्त नहुँदा आर्थिक समस्या बढेको उनले बताए । ‘सेवाको रिपोर्ट मासिक पेश गरेपनि भुक्तानीमा समस्या छ ।’– उनले भने । यसपटक कात्तिकबाट सरकारबाट झण्डै एक करोड रुपैयाँ रोकिएको उनले बताए ।

लुम्बिनी प्रदेशसहित अन्य १० जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् । शेयर सदस्य मुकेश श्रेष्ठले समुदायको स्वस्थ्य सेवा मागलाई सम्बोधन गर्दै आएको बताए । अस्पतालले लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठानका विभिन्न पालिकाहरुमा निःशुल्क मृगौला, मधुमेह लगायतका शिविर तथा सचेतनाका कार्यक्रम समेत गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । अस्पतालमा ११ जना लगानीकर्ताबाट २० करोड बढी लगानी रहेको छ ।