लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आह्वान

मेचीकाली संवाददाता

१२ बैशाख २०८०, मंगलवार
190 shares

बुटवल। लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानसभा धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनको लागि आह्वान गरेका हुन् ।

विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुखले सोमबार कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।

प्रदेश प्रमुखको कार्यालयद्वारा मंगलबार साँझ जारी गरिएको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरुको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठनको लागि २०८० बैशाख १४ गते बिहिबार ४ बजे भित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन् । एमालेले मुख्यमन्त्रीले राजनीनामा नदिएकाले ठूलो दलको हैसियतमा १६८(३) अनुसार सरकार गठन हुनुपर्ने जिकिर गदै आएको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । किनकी एमाले र राप्रपाको ३३ मत मात्र छ । बहुमतका लागि ४४ सांसद आबश्यक पर्छ ।