अध्यक्ष तिमिल्सिनाद्वारा कारागार कार्यालयको निरीक्षण

मेचीकाली संवाददाता

३० श्रावण २०७८, शनिबार
470 shares

पार्बती आचार्य
कपिलवस्तु । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कार्यालय कपिलवस्तुको निरीक्षण गरेका छन् । पञ्चायत शासन विरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बसेका अध्यक्ष तिमिल्सिनाले विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए । आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु आएको उनले बताए ।

शान्ति सुरक्षाको मुद्धामा विद्यार्थी जीवनकालमा पंचायती व्यवस्थामा उनलाई २०४२ साउन २७ गते जेल पठाइएको थियो । पोखराबाट स्थानान्तरण गरी उनलाई २०४३ साल पुष १० गते कपिलवस्तु कारागार पठाइएको थियो । उनी २०४४ साल असार २२ गते यहाँबाट मुक्त भएका थिए । बीचमा केही अवधिका लागि उनलाई रुपन्देही कारागार समेत चलान गरिएको थियो । आफनो विद्यार्थीकालीन जीवनको ऐतिहासिक स्थानमा पुग्दा पुराना कुराहरुयाद आएको बताए ।

जीर्ण बनेको कारगार पुगेका उनले त्यति बेला आफू बस्ने ब्लक भने अहिले भत्काइएको बताए । ‘ढेड वर्ष बिताएको ठाउँमा ३६ वर्षपछि आएको छु, अहिले म बसेको ठाउँ भत्काइएको रहेछ’ उनले भने । त्यतिबेला गर्मी र लामखुट्टेले सताएको कुरासमेत उनले स्मरण गर्दै पुरानो र नयाँ कारागार भवनको निरीक्षण र अवलोकन गर्दै कैदीबन्दी, जेलर, सुरक्षाकर्मीसँग जेलको अवस्थाबारे जानकारी लिएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले करागारमा जीर्ण भएको भवनको अवस्थाबारे सरकारलाई ध्यानकर्षण गराउने बताए । ‘पुरानो भवनलाई व्यवस्थित र नयाँ बनाउन सरकारलाई ध्यानकर्षण गराउने छु’ उनले भने ।

तिमिल्सिनासँग सांसद डा. सुर्य पाठक, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु समेत टोलीमा थिए । कारागारको अवस्थाबारे जेलर राकेश पाण्डेले जानकारी गराएका थिए । तिमिल्सिनाले कैदीबन्दीका लागि १ हजार थान एन ९५ मास्क जेलर पाण्डेलाई हस्तान्तरण गरेका थिए । ३ सय ५२ जना क्षमता भएको कारागार कार्यालय कपिलवस्तुमा हाल दुवै ब्लकमा ४ सय ५२ जना कैदीबन्दी रहेको कारागार कार्यालय प्रमुख राकेश पाण्डेले जानकारी दिए ।