बहादुरगन्ज आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु

मेचीकाली संवाददाता

१३ जेष्ठ २०८०, शनिबार
248 shares

कपिलवस्तु । नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा पहिलोपटक आँखाको कर्निया (नानी) प्रत्यारोपण सेवा सुरु भएको छ । कर्निया रोग विशेषज्ञ डाक्टर ज्योति सापकोटाको नेतृत्वमा चिकित्सकीय टोलिले आँखाको नानिको सफल प्रत्यारोपण गरेको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए ।

५० वर्षीया भारतीय नागरिक कृष्ण देवीको देब्रे आँखाको नानीको प्रत्यारोपण गरिएको ओटि इन्चार्ज सावित्रा केसीले बताइन् । नेपाल नेत्रज्योति संघ दाङ शाखाले स्थापना कालदेखि नै नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवं बाह्य सहयोगका माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, पुनःस्थापना तथा सचेतनात्मक सेवाहरु दिँदै आइरहेको छ ।

नेपाल नेत्रज्योति संघ दाङले तीनवटै आँखा अस्पतालहरु र उपचार केन्द्रहरु सञ्चालन गरी लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाहरु साथै कर्णाली प्रदेशमा समेत उपचारात्मक र सचेतनात्म कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।