हेल्थपोष्ट इन्चार्जलाई प्राथमिक उपचार तालिम

मेचीकाली संवाददाता

१४ जेष्ठ २०८०, आईतवार
226 shares

सुनिल आचार्य

कपिलवस्तु । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले बाणगंगा नगरपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य चौकीका इन्र्चाजहरुलाई प्राथमिक आँखा स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेको छ । दृष्टिविहीनताको अवस्थालाई न्यूनीकरण गर्नका लागि आँखा स्वास्थ्यसम्बन्धी स्वास्थ्य चौकीका प्रमुखहरुलाई तालिम प्रदान गरिएको हो ।

तालिममा जलविन्दु, मोतियाविन्दु, ट्रकोमा, दृष्टि रोग, रतन्धो, आँखामा लाग्ने चोटपटकलगायत आँखामा आउने विभिन्न समस्याको बारेमा छलफल गरिएको थियो । त्यस्तै तालिममा स्थानीय हेल्थ पोस्ट र आँखा उपचार केन्द्रमा आउने आँखासम्बन्धी विभिन्न समस्याको बारेमा उपस्थित र प्रशिक्षक बिच अन्तक्र्रिया गरिएको थियो ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुलक्ष्मी कटुवालको अध्यक्षतामा भएको तालिममा बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेल, विभिन्न स्वास्थ्य चौकिका प्रमुख तथा प्रतिनिधि, विभिन्न आँखा उपचार केन्द्रका स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।
उक्त तालिममा ओपडि इन्चार्ज ओपेन्द्र चन्दले सहजीकरण गरेका थिए । यस्तै तालिमको सञ्चालन औपचारिक कार्यक्रम प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गरेका थिए ।

यता अस्पतालबाट सन् २००४ देखि मे २०२३ सम्म ९ लाख ७३ हजार जनाले ओपिडी सेवा लिएका छन् भने १ लाख ३० हजार जनाले मोतिया विन्दुको शल्यक्रिया सेवा लिएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाले स्थापना कालदेखिनै नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवं बाह्य सहयोगका माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, पुनःस्थापना तथा सचेतनात्मक सेवाहरु दिँदै आइरहेको छ ।


नेपाल नेत्रज्योति संघ दाङले तीनवटै आँखा अस्पतालहरु र उपचार केन्द्रहरु सञ्चालन गरी लुम्बिनी प्रदेशअन्तर्गतको जिल्लाहरु साथै कर्णाली प्रदेशमा समेत उपचारात्मक र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालका प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले बताए ।