अफगानिस्तानबाट काठमाडौं आइपुगे १२७ नेपाली

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
306 shares

काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा नेपालीलाई पठाउने कम्पनी एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले ३८५ जना नेपालीलाई अमेरिकाले उद्धार गरेर दोहा पुर्याएको र तीमध्ये १ सय २७ जना आज बिहान नेपाल आइपुगेको बताएका छन् ।

तर परराष्ट्र मन्त्रालयले भने ११८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जानकारी दिएको छ । उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले बतायो ।

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।