सिम्रनलाई प्रमोदको सुझाव– म्युजिक क्लास ज्वाइन गर्नु, पढाइ बिगार्दै नबिगार्नु

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
754 shares

सुरिलो स्वरमा गीत गाएर सामाजिक सञ्जालमा भाइरल बागलुङकी सिम्रन परियार यतिबेला काठमाडौंमा छिन् ।

उनी काठमाडौं आएर रेकर्ड गराएको पहिलो गीत शुक्रवार सार्वजनिक भइसकेको छ । उनले प्रमोद खरेलको स्वर रहेको ‘उसलाई पाउन २’को फिमेल भर्सनबाट गायन यात्रा सुरु गरेकी हुन् । शुक्रवार सार्वजनिक यो गीतले युट्युबमा राम्रो भ्युज पाउँदै संगीततर्फ ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ ।

सिम्रनले शुक्रवार नै अर्को गीतमा पनि स्वर दिइसकेकी छिन् । श्रीधर अधिकारीको संगीतमा रहेको उक्त गीत शनिवार बेलुका सार्वजनिक हुँदैछ । यतिबेला सिम्रनलाई थुप्रै गीतबाट अफर आइरहेको छ ।

गीतमात्र नभएर चर्चित टेलिसिरियलबाट पनि उनलाई अभिनयको अफर आएको बुझिएको छ ।

प्रमोदको सुझावः म्युजिक क्लास ज्वाइन गर्नु, पढाइ नबिगार्नु
प्रमोद खरेलको ठूलो फ्यान भएको बताउने सिम्रनले पहिलो गीत प्रमोदकै गाइन् । गीत रेकर्ड गराएको अर्कोदिन प्रमोदलाई भेट्ने अवसर समेत पाइन् ।

भेटघाटका क्रममा प्रमोदले सिम्रनले गाएको भिडियो आफूले हेरेको बताउँदै स्वरको प्रशंसा समेत गरेका थिए । प्रमोदले ‘राम्रो गर्नु, मेहनत गर्नु’ भन्दै सिम्रनलाई शुभकामना समेत दिए । सिम्रनलाई प्रमोदले म्युजिक क्लास ज्वाइन गर्न समेत सुझाए । ‘पढाइ अन्यन्त आवश्यक हुन्छ, पढाइलाई चाहिँ बिगार्दै नबिगार्नु होला’ प्रमोदको सुझाव थियो ‘ पढाइ र संगीत दुवैलाई संगसंगै अगाडि बढाउनुहोला भन्छु ।’

सिम्रनले प्रमोदकै अगाडि केही गीत गाएर समेत सुनाएकी थिइन् ।