कपिलवस्तुमा सुरक्षित गर्भपतन गराउने बढ्दै

मेचीकाली संवाददाता

३ भाद्र २०८०, आईतवार
243 shares

पार्वती आचार्य

कपिलवस्तु । कपिलवस्तु अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्छ भन्ने जानकारी पाएपछि सुरक्षित गर्भपतन गराउन अस्पतालमा आउन थालेका छन् ।

सदरमुकाम स्थित कपिलवस्तु अस्पतालमा आर्थिक बर्ष ०७९/०८० को असार मसान्त सम्म १ सय ५५ जनाले म्यानोअल भ्याकुम एसप्रेरेसन बाट र औषधीको सेवनबाट १ सय २५ जनाले सुरक्षित गर्भपतन गराएको कपिलवस्तु अस्पतालका डाक्टर विपिन जायसवालले बताउनु भयो ।

आर्थिक वर्ष ०७७/०७८ मा ९३ जनाले म्यानोअल भ्याकुम एसप्रेरेसन बाट र ३ जनाले औषधी सेवन गरि सुरक्षित गर्भपतन गराए । यसैगरी ०७८/०७९ मा १ सय ४६ जनाले म्यानोअल भ्याकुम एसप्रेरेसन बाट सुरक्षित गर्भपतन गराएका छन् भने ८ जनाले औषधीको सेवनबाट गर्भपतन गराएको डाक्टर जायसवालले जनाउनु भयो ।

यसैगरी ०८० साउनको १ गते देखि साउन ३० गते सम्म म्यानोअल भ्याकुम एसप्रेरेसन बाट ६ जनाले सुरक्षित गर्भपतन गराए भने औषधी सेवनबाट ८ जनाले गर्भपतन गराएको अस्पतालमा आधारित लैंगिंक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तथा सिनियर अनमी आशा थापाले बताउनु भयो । थापाका अनुसार वार्षिक तथ्यांकको आधारमा हेर्ने हो भने प्रत्येक वर्ष सुरक्षित गर्भपतन गराउनेको संख्या बृद्धि हुँदै आएको छ ।