

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको विकास सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् । पाणिनी–६ धातिवाङ्गमा नवर्निमित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दे अध्यक्ष पौडेलले निर्माण भएको स्वास्थ्य चौकी भवनले अब स्वास्थ्यकर्मीहरुले सहजै राम्रो भवनमा बसेर सेवा दिनलाई थप टेवा पुग्ने बताए ।
गतवर्ष शिलान्यास भएको स्वास्थ्य चौकी भवन समयमै सम्पन्न गर्ने ठेकेदारलाई धन्यवाद दिँदै स्वास्थ्य क्षेत्रको विकासका लागी प्राथमिकता दिएर अगाडि बढेको बताए । उनले स्वास्थ्य संस्थाको भवन मात्रै बनेर नहुने बताउँदै स्वास्थ्य संस्था हुँदै वडालाई नै पोषणमैत्री वडा बनाउने अभियानमा लागेको बताए ।
गर्भवती महिलाहरुका लागी क्याल्सीयम वितरण, पोषणमैत्री सामाग्री हस्तान्तरणलगायतका कामहरु गतवर्ष गरेको बताउँदै हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनका लागि पहल गर्ने बताए । निर्वाचनमा गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि जनप्रतिनिधिहरु एकै ठाउँमा रहेको बताउँदै अध्यक्ष पौडेलले धातिवाङ्गलाई नमुना वडा बनाउन पहल गरेको बताए ।
उद्घाटन कार्यक्रममा काँग्रेसका कार्यवाहक सभापति तारापति पौडेल, एमालेका सचिव प्रेमनारायण पौडेल, कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्य हरिप्रसाद पौडेल, खगेश्वर पौडेल, पुनिकुमारी कामी, अमर आधारभूत विद्यालयका प्रअ हिमलाल पौडेल, सीता आधारभुत विद्यालयका प्रअ राजबहादुर सारु, सिद्धेश्वर सहकारीका अध्यक्ष घनश्याम पौडेल, स्वयंमसेविका जानका राष्कोटीलगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा धातिवाङ्गको लामडाडाँमा गाउँघर क्लिनिक बनाउँन निःशुल्क जग्गा दिने जग्गादाता टोपलाल पौडेललाई सम्मान गरिएको थियो ।