बढ्यो फूलको कारोबार

मेचीकाली संवाददाता

५ भाद्र २०८०, मंगलवार
435 shares

काठमाडौँ। आर्थिक वर्ष २०७९/८० मा पुष्प व्यवसायमा रु.तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८/८९ भन्दा रु.७७ करोडले बढी हो । कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा रु.दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा ३३ दशमलव ६३ प्रतिशतले बढेर आव २०७९/८० मा रु.तीन अर्ब सात करोडको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

गत आर्थिक वर्षका लागि एशोसिएसनले रु.तीन अर्बको कारोबार हुने अनुमान गरेको भए पनि लामो समय कोरोना महामारीको कारण थला परेको यस व्यवसायले पुरानै लय लिएसँगै कारोबार रकम बढेको हो । विशेषगरी विवाह, व्रतबन्ध, सभा सम्मेलन, सेमिनारमा बढी प्रयोग हुने फूल पाँच वर्षअघि विश्वभर फैलिएको कोरोना महामारीको समयमा अत्यन्तै कम कारोबार भएको थियो । उक्त समयमा कारोबार मात्र कम नभई लाखौँ फूलहरू नष्ट भएका थिए ।

कोरोनाअघि हरेक वर्ष यस व्यवसायले वार्षिक रु.तीन अर्ब ३० करोडसम्मको कारोबार गर्ने गरेको थियो । यसमा वार्षिक रु.१८ करोडको रातो गुलाफ फूलको मात्रै कारोबार हुने गरेको थियो । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा नै प्रयोग हुने सयपत्री र अन्य समयमा प्रयोग हुने रातो गुलाफ भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन ।

कोरोना महामारीअघि गुलाफको आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो सयय यसको उत्पादन घढ्दै गएका कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मात्रा र मूल्य बढ्दै गइरहेको बताइएको छ । नेपालमा विसं. २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको भए पनि बजार मागअनुसार स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था नभएको एशोसिएसनले बताएको छ ।

रातो गुलाफ विशेषगरी काठमाडौँ उपत्यकाको तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरूपमा लगाउने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा,रुपन्देही, धादिङ, मोरङलगायत ४८ जिल्लामा लगभग पाँच सय पाँच नर्सरी विस्तार भएका छन् ।

व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले यसको खेती गर्दै आएका छन । यस व्यवसायमा लगभग रु.सात अर्ब बढीको लगानी रहेको बताइएको छ ।

अहिले महामारीको त्रास छैन । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पूर्ववत्नै हुन थालेको छ । गत आर्थिक वर्षको वैशाखमा स्थानीय तहको निर्वाचन तथा मङ्सिरमा भएको आम निर्वाचनका कारण पनि उल्लेख्य मात्रामा फूलको कारोबार भएको अध्यक्ष तामाङ बताउँछन् ।

रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण बारीमै खेर फल्न परेपछि महामारीको समयमा यस व्यवसायमा आबद्ध जनशक्ति अन्य पेशामा समेत पलायन भएको बताइएको छ । विगत चार वर्षदेखि निकै नोक्सानीको सामना गरिरहेको यस व्यवसायले गत आवमा भने अनुमानित लक्ष्यभन्दा बढी आर्थिक कारोबार गरेको छ ।