भेटिँदैनन् नारायणीमा बेपत्ता भएकाहरु

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
510 shares
नारायणी नदीमा डुंगा मार्फत सामान ओसारपसार गर्दै सुस्तावासी । फाइल तस्बिरः हरि शर्मा

हरि शर्मा
परासी । नारायणी नदीमा डुंगा पल्टिदा मंगलबार २ जना वेपत्ता भए । माछा मार्ने क्रममा अनियन्त्रित हुँदा डुंगा नदीमा डुबेको हो । ५ जना सवारमध्ये ३ जना भने पौडी खेलेर बाँच्न सफल भए । वेपत्ता हुनेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ का ४३ वर्षिय मंगल बिन छन् । उनी डुंगाका साहुसमेत हुन् । वेपत्ता हुने अर्कामा भारत बिहार प्रदेश भैंसालोटनका ३० वर्षिय दशरथ कोइरी छन् । नदीमा डुबेको डुंगा ५ कि.मि. तल फेला परेको थियो । वेपत्ताको अहिलेसम्म अत्तोपत्तो छैन । प्रहरीले खोजी कार्यलाई निरन्तरता दिएको बताएको छ ।

गतवर्ष पनि नारायणी नदीमा डुंगा पल्टिदा एक जना वेपत्ता भएका थिए । वेपत्ता हुने भारतीय नागरिक हुन् । सुस्तामा भइरहेको निर्माण कामका लागि इट्टा लिएर जाने क्रममा डुंगा अनियन्त्रित हुँदा नदीमा डुबेको थियो । अन्य व्यक्तिहरु भने पौडेर सकुशल निस्केका थिए । त्यस्तै वर्षायाममा नदीको भेलमा बगेर आउने दाउरा समात्न खोज्दा अघिल्लो वर्ष र त्यसअघिको वर्षमा पनि दुई जना वेपत्ता भए । वेपत्ता हुने नर्सही र रामनगरका हुन् । यी सबै घटना सुस्ता गाउँपालिकाको ठाँडीघाट र सुस्ता क्षेत्रको नारायणी नदी क्षेत्रमा भएका हुन् ।

वेपत्ता भएका कुनै पनि व्यक्ति फेला पर्न सकेका छैनन् । वेपत्ता भएकाहरु फेला नपर्नुमा नदीको गहिराई बढी रहेको प्रहरी चौकी रामनगरका प्रहरी सहायक निरीक्षक नारायण लुइटेलले बताए । ‘नदीमा बालुवा धेरै छ । डुबेपछि बालुवामै गाडीने संभावना बढी हुन्छ । त्यसैले पनि फेला पर्न मुश्किल भएको हो । ’ लुइटेलले भने । नारायणी नदी भारतको बिहारहुँदै पटनामा गएर मिसिएको छ । वेपत्ता भएकाहरु भारतमा फेला पर्न सक्ने संभावनालाई हेरेर प्रहरीले त्यहाँ पनि समन्वय गर्ने गरेको छ । वेपत्ता भएपछि त्यहाँका प्रहरी चौकीमार्फत भारतीय प्रहरीलाई खबर गरेर खोजी गर्न आग्रह गरिदैं आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए । गहिराई र बालुवा भाँसिएकाले खोजी कार्य पनि कठिन रहेको प्रहरीले जनाएको छ ।

नारायणी नदीमा डुंगा पल्टिने र वेपत्ता हुने घटनाहरु अधिकांश डुंगा मार्फत सुस्ता गाउँ आउजाउ गर्दा, निर्माण सामाग्री ओसारपसार गर्दा, माछा मार्दा र भेलको दाउरा संकलन गर्ने क्रममा हुने गरेको सुस्ताका स्थानीयवासी रविन्द्र जयसवालले बताए । नदीमा पुल नहुँदा सुस्तावासीहरुको आउजाउ र सरसामान ओसारपसार गर्ने सवारीको माध्यम डुंगा नै हो । डुंगा पल्टिने घटना बढी हुने गरेपनि धेरै जना भने सकुशल पौडेर बाहिर निस्कने गरेको स्थानीयले बताएका छन् ।

सुस्ता जोड्नका लागि ६ वर्षअघि निर्माण कार्य थालनी गरेको झोलुङ्गे पुल अझै बन्न सकेको छैन । पुल नहुँदा सुस्तावासीहरु वर्षायाममा आफ्नै देशमा आउन भारतीय भूमिको प्रयोग गर्नुपर्छ भने कहिलेकाही भारतीय सुरक्षाकर्मीहरुले अवरोध गर्दा जोखिम मोलेर डुंगा मार्फत आउनु पर्ने बाध्यता छ ।