हाटबजारमा स्वास्थ्य सचेतनाका लागि मास्क वितरण

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
738 shares

बुटवल । हाटबजार व्यवसायी संघ, रूपन्देहीले कोरोना संक्रमणलाई रोकथाम र न्यूनीकरणका मास्क वितरण अभियान सुरू गरेको हो । कोभिड–१९ को संक्रमण अझै महामारीको रूपमै रहेको भन्दै जनचेतना जगाउन हाटबजारका व्यवसायी र ग्राहकहरुलाई मास्क वितरण गरेको हो । हाटबजार संक्रमणको बाढी जोखिममा रहेको छ ।

मास्क वितरण कार्यक्रमको सुरुवात बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गरे । सो अवसरमा बोल्दै नगर प्रमुख सुवेदीले कोभिडसँग जोडिएका आनाबासीमा सुधार गर्न सके संक्रमण नियन्त्रणमा आउने बताए । उनले हाटबजारमा आउने सबै सेवाग्राहीलाई मास्कको अनिवार्य प्रयोग गर्न लगाउने र व्यवसायी आफूले पनि प्रयोग गर्न सुझाव दिए । हाटबजारलाई ओपन सटर व्यवासायको नाममा सञ्चालन गर्न सुवेदीले व्यवसायीलाई आग्रह गरे । मेयर सुवेदीले महामारी सबैको साथ सहयोग र पहलबाटै नियन्त्रण हुने भएकाले त्यसतर्फ सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा संघका अध्यक्ष टेकबहादुर जिसीले आफूहरुले सचेतना र भौतिक दुरीको ख्याल गरेरै व्यापार व्यवसाय चलाएको बताए । उनले मास्क प्रयोग बिना हाटबजार ग्राहकलाई पनि प्रवेश गर्न नदिइने बताए । सो अवसरमा १ हजार भन्दा बढी मास्क वितरण गरिएको जिसीले बताए । कार्यक्रममा बुटवल वडा नम्बर ५ का अध्यक्ष तेजप्रसाद सुनारले व्यवसायीको समस्या समाधानको लागि सधै लागिरहने बताए ।

कार्यक्रमका संघका पूर्व अध्यक्ष भीमलाल ज्ञवाली, पूर्व उपाध्यक्ष छविलाल चापागाई लगायतले बोलेका थिए । संघका अध्यक्ष टेकबहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष कृष्ण पौडेलको स्वागत तथा महासचिव हुमाराम पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।