रोटरी क्लब अफ सेन्ट्रल बुटवलद्वारा आम्दालाई स्वास्थ्य सामग्री हस्तान्तरण

मेचीकाली संवाददाता

११ असार २०७८, शुक्रबार
781 shares

बुटवल, असार ११ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लबले बालबालिकाको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरणको साथै विभिन्न खेलौना सामग्री–सेट रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालको संरक्षणमा रहनेगरी अस्पताललाई हस्तान्तरण गरेको हो ।

शुक्रबार सामग्री हस्तान्तरण कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले क्लबले प्रदान गरेका सामग्रीले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यन्वाद व्यक्त गर्दै उनले बालबालिका र महिलाको उपचारका लागि पश्चिम क्षेत्रको गहनाका रुपमा रहेको आम्दा अस्पताललाई अझै सुधार गर्दै लैजान उपमहानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले नयाँ उपकरण र जनशक्ति थप गरी आम्दा अस्पतालको स्वास्थ्य सेवालाई बिस्तार गर्न प्रदेश सरकारसँग छलफल भैरहेको जानकारी दिए ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भट्टराईले अस्पताललाई थोरै भएपनि स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा खुसी भएको बताए । उनले उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुको उपचारमा केही सहज होस् भन्ने उद्देश्यलाई आम्दालाई छनोट गरी स्वास्थ्य सामग्री हस्तानतरण गरेको बताउँदै यी उपकरणहरुको जतनसाथ प्रयोग गर्न आग्रह गरे । क्लबका अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षता, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एजाज आलम, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा. राजेन्द्र बस्याल, रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालका अध्यक्ष डा. सन्तोष पोखरेल लगायतले बोलेका थिए ।

यसैबीच रोटरी क्लब अफ सेन्ट्रल बुटवलले कोरोना महामारीको समयमा लामो समयसम्म बिरामीहरुको सेवामा खटिँदा स्वास्थ्यकर्मीहरुमा आउनसक्ने समस्या र तनाबलाई कसरी कम गर्ने भन्ने बिषयमा शुक्रबार तालिम सम्पन्न गरेको छ । रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालको सहयोगमा आयोजना गरिएको तालिममा बुटवल क्षेत्रका चिकित्सकहरुकोे सहभागिता रहेको थियो ।

तालिममा डा.विक्रम काफ्लेले कोरोना महामारीमा कसरी आत्मबल बलियो बनाउने, कोरोना महामारीमा आफ्नो परिवारलाई कसरी सुरक्षित राख्ने र तनाब कम गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । कोभिड महामारीको समयमा कसरी दैनिक क्रियाकलापहरु सञ्चालन गर्ने, बालबालिकाको हेरचाह कसरी गर्ने, बिरामीहरुसँग कसरी प्रस्तुत हुने लगायतका विषयहरुमा बताएका थिए । त्यस्तै हरेक व्यक्तिले आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन दैनिक एकघण्टा समय छुट्टाएर मानसिक तनाब कम गर्न दैनिक योग, मेडिटेसन गर्न सुझाव दिए । अभिभावकहरुले बालबालिकाहरुको समस्या पहिचान गर्न उनीहरुसँग नम्र व्यवहार गर्नुपर्ने र सकेसम्म ६ वर्षभन्दा साना बालबालिकाहरुलाई मोबाइल, कम्प्युुटर आदिबाट सकेसम्म टाढा राख्न सुझाव दिए ।

तालिममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भट्टराई, क्लबका संस्थापक अध्यक्ष एजाज आलम, क्लबका वर्ष २०२१÷२२ का अध्यक्ष होमराज बस्याल, रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालका अध्यक्ष डा. सन्तोष पोखरेल, गौतम बुद्ध सामसदायीक मुटु अस्पतालका इन्चार्ज डा. समीर गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव गंगाप्रसाद ढकालले गरेका थिए ।