फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजियोः विमला वली

मेचीकाली संवाददाता

३ भाद्र २०७८, बिहीबार
701 shares

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) ले आफ्नो चरित्रहत्याको प्रयास भएको बताएकी छिन्। मंगलबार वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी छ ।

बस्नेतसँग चुम्बन गरेको तस्वीर सामाजिक सञ्जाल र केही अनलाईन न्यूज पोर्टलहरुमा सार्वजनिक भएपछि बुधबार विज्ञप्ति जारी गर्दै वलीले राजनीतिक प्रतिशोध साँधेर आफुलाई फसाउन खोजिएको आरोप लगाएकी हुन्।

‘हिजो एका–एक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्रहत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा भनेकी छिन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन । मेरो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरूबाट जुन दुस्प्रयास भयो, यसको कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भए पनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि चरित्र हत्या गर्न खोजिएको उनको आरोप छ।

‘मैले प्रदेश सभाको निर्वाचनमा दाङ क्षेत्र ३ (२) बाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट निर्वाचित भए र पछि माओवादी केन्द्र र एमाले आफ्नै अस्तित्वमा गएपछि मैले माओवादी केन्द्र रोजेँ,’ उनले भनेकी छिन्, ‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरूबाट म माथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए ।

मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयासस्वरूप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।’