लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो क्याथ ल्याब सेवा

मेचीकाली संवाददाता

३ फाल्गुन २०८०, बिहीबार
261 shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । करोडौं मूल्यका क्याथ ल्याब मेसिनबाट बिरामीको उपचार सुरु गरिएको हो ।

ल्यावको औपचारिक उद्घाटन भने अस्पतालको ११४ औँ वार्षिक उत्सवको दिन फागुन १५ गते हुने भएको छ । अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको अस्पतालका मेसु डा.सुदर्शन थापाले जानकारी दिए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीसहितको विशेषज्ञ टिमले अब प्रादेशिक अस्पतालमै मुटुको उपचार गर्नेछन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.बुढाथोकीको नेतृत्वमा बिरामीको एनजीओग्राम गरेर सेवा सुरु गरिएको थियो । एन्जिओग्राम र एन्जियोप्लास्टीका उपचार सेवा यहीँबाट गरिनेछ । बिहीबारदेखि एन्जिग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको हो भने थप सेवा विस्तार हुँदै जानेछ ।

डा.बुढाथोकीलाई डा. रोशन घिमिरेले साथ दिएका छन् । अस्पतालका मेसु डा. थापाले अस्पतालमा विशेषज्ञ चिकित्सकसहित बिहीबारदेखि क्याथ ल्याब सेवा सुरु भएको बताए । अब मुटुसम्बन्धी समस्याका विरामीको रोगको छिटो पहिचान गर्न सकिने उनको भनाइ छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि २२ करोड विनियोज गरेको छ । यो सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेशको पहिलो सरकारकै पालामा पहल भएको थियो । हाल आएर मात्रै सञ्चालनमा आएको छ ।

कार्डियोलोजी बिभागका जनस्वास्थ्य निरीक्षक रामप्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसिटी एस मेसिन रहेको यसले मुटुसम्बधी उपचार गर्न सकिनेछ । क्याथल्यावमा दुई जना चिकित्सक दुई स्टाफ नर्स १ एनेस्थेसिया एक हेल्पर गरी जम्मा ८ जनाले सेवा दिइने बताए । मुटुसम्बन्धी समस्या भएर अस्पतालमा आएका २ जना बिरामीको उपचार गर्दै सेवा सुरु भएको मेसु डा. थापाले बताए । उपचार गरिएका दुबै बिरामीको अवस्था सामान्य रहेको पाइएको छ ।

दैनिक १ हजार बिरामीले उपचार सेवा लिने प्रादेशिक अस्पतालमा विभिन्न सेवाहरु थप हुँदै गएका छन् । बुटवलमा पहिलोपटक गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले विशेषज्ञ सेवासहितको उपचार सुरु गरेको थियो ।