बिपन्न समुदायका जनतालाई बिशेषज्ञको पहुँचमा पु¥याउन स्वास्थ्य शिवीर

मेचीकाली संवाददाता

९ फाल्गुन २०८०, बुधबार
395 shares


नेत्र गैरे

पाल्पा – बरिष्ट मुटुरोग बिशेषज्ञ डा. भगवान कोईराला मुटुरोगको उपचारको लागि बगनासकाली गाउँपालिकाको बराङदीमा आउदैछन् ।

रिडी राम्दी समाज काठमाडौको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीको सह आयोजनामा फागुन ११ र १२ गते ( शुक्रबार र शनिबार) बृहत निशुल्क स्वास्थ्य शिविर बगनासकाली ८ बराङ्दीमा सञ्चालन हुने भएको छ । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गर्दै स्वस्थ सदस्य स्वस्थ सहकारीको अभियानलाई पुरा गर्न स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुषालले बताए । उनले ग्रामीण दुर दराजमा रहेका बिपन्न समुदायका जनतालाई बिशेषज्ञको पहुँचमा पु¥याउन शिवीरको आयोजना गरिएको बताए । उक्त दिन पाल्पा लगायत बिभिन्न ठाउँका जनताले मुटु, आखाँ र बालरोग सम्बन्धीका बिरामीलाई सेवा उपलब्ध गराइने अध्यक्ष भूषालले बताए ।

दुईदिन सम्म संञ्चालन हुने उक्त शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्णलाई निशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी उपलब्ध गराइने छ । शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा भगवान कोइराला, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, लुम्बिनी मेडिकल कलेज प्रभास, सिद्धार्थ बाल तथा महिला अस्पतालका स्त्रीरोग विशेषज्ञ राजेन्द्र बश्याल, बाल रोग विशेषज्ञ, लुम्बिनी नेत्र बिज्ञान प्रतिष्ठान भौरहवा बाट आँखारोग विशेषज्ञ तथा सहित वरिष्ठ चिकित्सकहरु लगायतको टोलीद्धारा स्वास्थ्य परिक्षण गरिने सहकारीका सचिव कमलराज तिमिल्सिनाले बताए ।


रिडी राम्दी समाजले बिभिन्न समयमा सामाजिक कार्य गदै आएको छ । आउँदा दिनहरुमा पनि देशव्यापी स्वास्थ्य शिविर लगायत अरु विभिन्न सामाजिक कार्य गर्दै जाने रिडी राम्दी समाज काठमाडौका अध्यक्ष रामप्रसाद घिमिरेले बताए ।