कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सुरु

मेचीकाली संवाददाता

१६ बैशाख २०८१, आईतवार
166 shares

कपिलवस्तु । कपिलवस्तुमा १६औँ चरणको हात्तिपाइले बिरुद्धको औषधि खुवाउने अभियान सुरु गरिएको छ । बाणगंगा सहित कपिलवस्तु जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने १६ औं अभियान आइतबार देखि सुरु भएको छ । १५ औं पटक हात्तीपाइले फाईलेरियाको औषधि खुवाउँदा पनि निवारण हुन नसकेपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन थालिएको बाणगंगा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले बताए ।

बाणगंगामा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले हात्तिपाइले विरुद्धको औषधि खाएर अभियानको सुरुवात गरेका छन् । सो अवसरमा सांसद पन्थिले प्रदेशका अन्य ११ वटै जिल्लामा हात्तिपाइले रोगको निवारण हुँदा कपिलवस्तुमा नहुनु लज्जासपद रहेको बताए । विभिन्न कारणले गर्दा केहिले औषधि सेवन नगरिदिदा अभियान सफल हुन नसकेको बताए । सरकारले सुरु गरेको अभियानलाई नागरिकले साथ दिए मात्र अभियान पुर्ण रुपमा सफल हुने सांसद पन्थीको भनाई छ ।

यसैगरी बाणगंगा नगरपालिकाका मेयर तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले यो पटकको हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियानलाई अन्तिम अभियानको रुपमा अगाडि बढाउन नगरपालिका लागिपरेको बताए । समाजका शिक्षित, वुद्धिजिवि र पहँुच पुगेका व्यक्तिले नै औषधि सेवन नगरिदिदा रोग निवारण हुन नसकेको भन्दै अनावश्यक भ्रम सृजना नगरिदिन आग्रह गरेका छन् । नगरमा यस वर्ष परिक्षण गर्दा हातिपाईले रोग कसैमा नभेटिएको बताउदै नगर यस रोगमा अहिले शुन्य रहेको बताए । मेयर अर्यालले औषधिले कुनै असर नगर्ने भएकाले ढुक्क भएर औषधि खान सम्पुर्ण नगरबासी लाई आग्रह गरेका छन् ।

नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्दै १६ औँ पटकको अभियानलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए । नगरका प्रत्येक वडा, विद्यालय, स्वास्थ्य चौकि लगायत सबै ठाउँमा गएर स्थानियलाई औषधि खुवाईने संयोजक पौडेलले जनाए ।

कार्यक्रममा उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश क्षेत्रीले बोल्दै सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरे अभियानलाई सफल पार्न सकिने बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ । कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आम औषधि सेवन आजदेखि सुरु भएको छ ।

होराइजन स्कुलमा भएको कार्यक्रममा विद्यालयका प्राचार्य बासुदेव घिमिरे, नगरका कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविाका, विद्यार्थी, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।